काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा पराजित हुँदै उपविजेता बनेको छ ।
आज भएको फाइनल खेलमा नेपाल उज्बेकिस्तानसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफमा १-० को अग्रता लिएको उज्बेकिस्तानले दोस्रो हाफको सुरुवातमै अग्रता बढाएको थियो । त्यसपछि खेलको ६४औं मिनेटमा फेरी पनि उज्बेकिस्तानले अग्रता तेब्बर बनाएको थियो ।
नेपालले खेलमा कम ब्याक गर्ने प्रयास गर्दै सावित्रा भण्डारीले ६७ औं मिनेटमा र ८६औं मिनेटमा गोल गरेकी थिइन् ।
नेपाल यस हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ । यसअघि ६ पटक भारत र १ पटक म्यानमारसँग नेपाल फाइनलमा पराजित भएको थियो । पछिल्लोपटक नेपाल विराटनगरमा आयोजित साफ च्याम्पियनसिपमा भारतसँग फाइनलमा पराजित भएको थियो ।