• २०८१ बैशाख ६ बिहीबार

इन्द्रजात्रा पर्व संरक्षणका लागि ५ करोड रुपैयाँको अक्षय कोष स्थापना

kharibot

काठमाडौं । इन्द्रजात्रा सञ्चालनका लागि दिगो आर्थिक श्रोत व्यवस्थापन गर्ने उद्देश्यले ५ करोड रुपैयाँको ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ घोषणा गरिएको छ ।

बिहीबार राजधानीमा एक बिशेष समारोह गरेर काठमाडौं महानगरपालिकाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईबाट कोष स्थापना घोषणा गरेको हो । कोषमा संघीय सरकारबाट १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट १ करोड रुपैयाँ, काठमाडौं महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० लाख रुपैयाँ रकम जम्मा गरेर ५ करोड बनाइएको छ ।

कोष घोषणा कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले — राष्ट्रपति र प्रधानमन्त्रीसमेत चासो दिएर कोषको कुरा गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै काठमाडौंबाट निर्वाचित संसद सदस्यहरुको मागलाई सम्बोधन गर्न यस अघिका सरकारले अघि बढाएको प्रक्रियाअनुसार मन्त्रालयले मन्त्री परिषद्मा प्रस्ताव लगेको र भदौ २० गते बसेको परिषद्को बैठकले कोष स्थापना गर्ने निर्णय गरेको जानकारी दिए । 

यो कोषमा संघ, प्रदेश र स्थानीय ३ वटै तहका सरकार र इन्द्रजात्राको संरक्षणमा चासो राख्ने जसले पनि रकम जम्मा गर्न सक्ने बताउँदै मन्त्री भट्टराईले कोष सञ्चालनका लागि कार्यबिधि तयार हुँदै गरेको बताए । यो कोष सञ्चालन गर्न महानगरका प्रमुखको अध्यक्षतामा सञ्चालक समिति गठन हुनेछ, उनले भने— अब जात्रा तयारी गर्ने बेलामा पैसा कता छ भनेर खोज्न जानु पर्दैन । काठमाडौंका सांस्कृतिक सम्पदा बचाउन गुठी बिधेयकलगायतका बिषयमा हामी गम्भीर भएर काम गर्नेछौं, मन्त्रीको भनाइ थियो ।

कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले भने — कोष घोषणा गर्न समय लागेन तर परिस्थितिलाई यो अवस्थामा ल्याउन भने निकै समय बिताउनु पर्यो । कोष स्थापना गर्ने अपनाइएका प्रक्रियाका बारेमा उल्लेख गर्दै उनले भने — यसका लागि इन्द्रजात्रा व्यवस्थापन समितिको क्रियाशीलता प्रशंशनीय छ । इन्द्रजात्रा व्यवस्थापन महानगरको प्राथमिक काम हो । जात्रा चलाउन खर्च खोज्न जानु परेन भने जात्रा स्वतस्फूर्त रुपमा सञ्चालन हुन्छ । यसमा जात्रासँग सम्बन्धित सबै गुठी, गुठीयार समेटिनेछन् । यसका लागि महानगरले निर्वाह गर्नु पर्ने समन्वयकारी भूमिका सदैव निर्वाह गर्नेछ, मेयर शाक्यको प्रतिवद्धता थियो ।

कोष सञ्चालनका लागि महानगरका प्रमुखका अध्यक्षतामा सरोकारवाला कार्यालय र पक्षका प्रतिनिधिसहित सञ्चालक समिति गठन हुनेछ । समितिले कार्यबिधिमा तोकेबमोजिम कोष सञ्चालन गर्नेछ । यस समितिको सदस्यमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि एक जना, प्रदेश सरकारको प्रतिनिधि एक जना, इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष, गुठी संस्थानको प्रतिनिधि, हनुमानढोका दरबार हेरचाह अड्डाको प्रमुख सदस्य रहनेछन् भने महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख सदस्य सचिव हुनेछन् ।

अहिले कोष सञ्चालनको कार्यबिधि बनाउने काम पनि भइरहेको छ । यसका लागि महानगरकातर्फबाट निर्देशक बसन्त आचार्यले प्रतिनिधित्व गरेका छन् । निर्देशक आचार्यकाअनुसार कार्यबिधि बनाउने समितिमा मन्त्रालयका सहसचिव एवम् प्रमुख पुरातत्व अधिकृत मंगल प्रधान संयोजक छन् । समितिको सदस्यमा मन्त्रालयको कानुनका उपसचिव, पुरातत्व बिभागका उपसचिव, गुठी संस्थानका उपप्रमुख, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख मन्त्रालयका पुरातत्व अधिकृत छन् ।

कोष सञ्चालक समितिका सदस्य सचिव एवं महानगरको सम्पदा तथा पर्यटन बिभागका प्रमुख राम थापाका अनुसार — समितिबाट प्राप्त मस्यौदा महानगरको नगर कार्यपालिकाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

कोष घोषणा कार्यक्रममा काठमाडौंका संघीय तथा प्रदेश सभा सदस्यहरु, महानगरका उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, गुठीयारहरु सहभागी थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै