• २०८१ बैशाख ७ शुक्रबार

दसैंको टिकट बुकिङ असोज ५ गतेदेखि

kharibot

काठमाडौँ । दशैँका लागि यहि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस पटकको दसैंमा नयाँ बस भने थपिएका छैनन् । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

विभागले दशैँ-तिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिएको छ । त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने सहमति भएको छ ।

यस क्रममा विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिने विभागले तयारी गरेको छ ।

महासङ्घका महासचिव सरोज सिटौलाले व्यवसायीले दशैँ अगाडि नै विभिन्न स्थानमा सडकको मर्मत गर्नुपर्ने माग राखेको बताए । राष्ट्रिय राजमार्गसहित स्थानीय सडकमा वर्षाका समयमा परेको बाढीपहिरोका कारण खाल्डाखुल्डी रहेको उनको भनाइ छ । उनले भने, “सम्भावित दुर्घटना रोक्न सडक मर्मत चाँडो गर्नुपर्ने आवाज हामीले उठाइरहेका छौँ ।”

अघिल्ला वर्षमा दशैँलाई लक्षित गरेर नयाँ बस भित्र्याउने गरिएकामा यस वर्ष नयाँ खरीद नगरिएकाले भएकैलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको महासचिव सिटौलाले बताए । दशैँका समयमा कति गाडी आवश्यक छ र महासङ्घले कति काठमाडौँ झिकाउन सक्छ भन्ने टुङ्गो लागिसकेको छैन । 

उनले भने, “हामीले त्यसबारे देशभर रहेका व्यवसायीसँग बुझिरहेका छौँ ।” वर्षेनी दशैँ शुरु हुनुभन्दा झण्डै एक महीना पहिले नै अग्रिम टिकट खुलाउने गरेकामा यस वर्ष गत वर्षभन्दा ढिलो टिकट खुल्ने निर्णय भएको छ ।

त्यस्तै विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रिय यातायात व्यवस्थापन अनुगमन समिति गठन हुने भएको छ । सो समितिले टिकटमा हुन सक्ने कालोबजारी अनुगमन गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै