• २०८१ बैशाख ८ शनिबार

काँग्रेसको जागरण कार्यक्रममा नेकपा कार्यकर्ताको आक्रमण

kharibot

काठमाडौं । नेपाली कांग्रेस बाँकेको कार्यक्रममाथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले आक्रमण गरेका छन् ।

दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन्।

उक्त आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोईरालाको बायाँ हात (फ्याक्चर) भाँचिएको छ, भने अन्य कार्यकर्ता सामान्य घाइते भएका छन् ।

जनजागरण कार्यक्रमलाई पार्टीका केन्द्रिय प्रतिनिधी विद्याप्रसाद खनालले सम्बोधन गरिरहेका बेला करिव ४/५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा आएर कार्यक्रम बिथोल्न खोजेको र सम्झाउन खोज्दा आफुमाथि आक्रमण गरेको सभापति कोइरालाले बताइन् ।

‘कार्यक्रम बिथोल्न नेकपाका कार्यकर्ता हलभित्रै पसे, उनीहरुलाई सम्झाउँदा उल्टै आक्रमण गरे,’ घटनापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ‘हामीले त्यहाँ असुरक्षा महसुस ग-यौं, त्यहाँको अवस्था राम्रो देखेनौं, हाम्रा कार्यकर्ता त्रसित भएका छन्।’

नेकपाका कार्यकर्ताले कार्यक्रम बिथोल्न लागेको संकेत पाएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गर्दा पनि बेवास्ता भएको कांग्रेसले आरोप लगाएको छ । 

नेकपाका कार्यकर्ताले आक्रमण गरिरहँदा कार्यक्रम स्थलमा रहेका प्रहरी मुखदर्शक बनेको उनको आरोप छ । ‘खबर गरेको डेढ घण्टापछि थप प्रहरी घटनास्थलमा पुगे, तर आक्रमणमा संलग्न व्यक्तिलाई पक्राउ गरेनन्,’ उनले भने ‘यसबाट राज्यसत्ता नै कांग्रेसको कार्यक्रम भाँड्न लागेको छ भन्ने पुष्टी हुन्छ ।’ कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले स्थानीय तहमा भएको भ्रष्टाचारको कुरा गर्दा सुनियोजित रुपमा कार्यक्रममाथी आक्रमण गरिएको बताए ।

पुर्वसांसद बादसा कुर्मीले जनजागरण अभियानमार्फत स्थानीय तहमा भएका भ्रष्टाचारबारे जनतालाई सचेत गराउने केन्द्रबाट परिपत्र आएको स्मरण गराउँदै भ्रष्टाचार र अनियमिताविरुद्ध आवाज उठाउँदा कांग्रेस कार्यक्रममाथि आक्रमण भएको बताए । उनले आक्रमणमा संलग्न ब्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे ।

यसैबीच नेपाली कांग्रेस बाँकेले एक विज्ञप्ती जारी गरी आक्रमणमा संलग्न दोषी उपर कारबाही नभए पार्टीले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

जिल्ला सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तीमा मुलुकको प्रतिपक्षी दलको राष्ट्रिय कार्यक्रमलाई बिथोल्ने, बद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने ‘अपराधिक चरित्र’ का उल्लेखित व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न तथा नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न सरकारसँग माग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै