• २०८१ बैशाख ७ शुक्रबार

इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना स्वदेश फिर्ता

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली आज स्वदेश फिर्ता भएको छ ।

भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि अन्य नगरका प्रमुखसहितको टोली आज स्वदेश फर्केको हो । इन्द्रजात्रा अवलोकन गर्न गत बिहीबार चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना नेपाल आएका थिए ।  

विदेशी पाहुनाहरुले काठमाडौँ उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको उच्च प्रशंसा गरेका छन् । 

उनीहरुलाई इन्द्रजात्राको दिन भदौ २७ गते बिहान ९ बजेदेखि १२ बजेसम्म इन्द्रजात्रामा कुमारी रथ यात्रा हुने स्थान र बसन्तपुरमा रहेका बहा, बही, ब्रह्मचक्र महाविहार, मञ्जुश्री नघ महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरवलगायतका सम्पदाको अवलोकन गराइएको थियो । 

भदौ २८ गते विदेशी पाहुनालाई  चन्द्रागिरी, स्वयम्भूस्थित प्राकृतिक विज्ञान सङ्ग्रहालय र स्वयम्भू स्तुप क्षेत्रको अवलोकन गराइएको थियो । भदौ २९ गते भक्तपुर र पाटन क्षेत्रको अवलोकन गराइएको थियो । भक्तपुरमा तलेजु भवानी, पचपन्नझ्याले दरवार, दत्तात्रेय मन्दिरसहित दरवार क्षेत्रका मठमन्दिर र पाटनमा सुन्दर चोक, कृष्णमन्दिरसहित हिरण्यवर्ण महाविहारको अवलोकन गराइएको थियो ।

इन्द्रजात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले यस वर्षको इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका सबै शहरका प्रमुख र प्रतिनिधिलाई निम्ता गरेको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै