• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेसद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

kharibot

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ । 

विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु पारित गर्नुपूर्व सभासमक्ष राखेका प्रतिबद्वता पूरा नगरेको भन्दै काँग्रेसले बैठक अवरुद्व गरेको हो ।

चालू अधिवेशनको २२औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले विभिन्न मन्त्रालयको चालू खर्च घटाउने, मुख्यमन्त्री कार्यालयको बजेट घटाएर जनता सडक कार्यक्रमलगायतमा बजेट समायोजन गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए । 

प्रतिपक्षीका साथै सत्तारुढ प्रदेशसभा सदस्यले ती प्रावधानलाई विधेयकका अभिन्न अङ्ग नबनाएसम्म बजेट पारित नगर्ने चेतावनी दिएपछि मन्त्री ज्वालाले बजेट संशोधनको घोषणा गरेका थिए ।

प्रदेशसभाको सोमबारको बैठकमा विपक्षी दलका नेता जीवनबहादुर शाहीले अर्थमन्त्रीले सभालाई छलेर विधेयक अघि बढाएकाले राजीनामा माग्नुपरेको बताए । “अर्थमन्त्रीबाट सभाको मर्यादाको उल्लङ्घन भयो, सभालाई झूठो विवरण बुझाउने काम भयो,” उनले भने, “मन्त्रीले राजीनामा नदिँदासम्म सभा अगाडि बढ्न सक्दैन, हामी सधै सरकारको झूठो कुरा सुनेर बस्न सक्दैनौँ ।” 

प्रतिपक्षी दल काँग्रेसका नेता शाहीले बोलेलगत्तै बैठक अवरुद्व भएको थियो । काँग्रेस सदस्यले सिटबाट उठेर बैठकमा अवरोध जनाएका थिए । चालिस सदस्यीय प्रदेशसभामा काँग्रेसका ६ सदस्य छन् । काँग्रेसको अवरोध कायमै रहेपछि सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै