• २०८१ बैशाख ८ शनिबार

काँग्रेसको भ्रातृ संस्थाको भद्रगोल

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा व्यस्त रहेकै बेला भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । 

शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि तरुण दलको विवाद सतहमा आएको हो । 

अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएका थिए । लगत्तै महासचिव शाहीले पनि अर्को विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गरेका थिए । 

मातृ पार्टी काँग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भ्रातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । काँग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ । 

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिको व्यवस्था रहेकोमा हालसम्म पदाधिकारीले मात्र तरुण दल चलाइरहेका छन् । 

विसं २०१० कात्तिक १० गते तत्कालीन काँग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालाको समन्वय र निर्देशनमा तरुण दल स्थापना भएको हो । तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री विपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए । 

राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि हालसम्म तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन् । 

असोज पहिलो साता नेवि सङ्घ केन्द्रीय समिति बन्दै 

काँग्रेसको अर्को प्रभावशाली भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) पनि अहिले नेतृत्वविहीन अवस्थामा रहेको छ । संघको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महीनादेखि केन्द्रीय समिति रिक्त छ । नेविसंघको ११औँ महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो । अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिएपछि अहिलेसम्म नेविसंघ नेतृत्व विहिन रहेको छ । 

विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको संघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरिसकेका छन् । नेविसंघको पहिलो अध्यक्ष विपिन कोइराला रहेका थिए । त्यसपछि शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउँद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जीत कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् । 

काँग्रेसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आगामी असोज पहिलो साताभित्र नेविसंघ केन्द्रीय समिति गठन भइसक्ने जानकारी दिए । 

आठ भ्रातृ र छ शुभेच्छुक संस्थाको म्याद समाप्त

काँग्रेसमा हाल नेपाल महिला संघ,  नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, मुस्लिम संघ नेपाल, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन् ।

त्यसमध्ये नेविसंघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको अवस्था रहेको छ ।

यसैगरी काँग्रेसका नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक सङ्घ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा सङ्घ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी सङ्घ, प्रजातान्त्रिक वन प्राविधिक सङ्घ नेपाल, नेपाल कुमाल सङ्घ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएशन नेपाल गरी १८ शुभेच्छुक संस्था छन् ।

त्यसमध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा सङ्घ, प्रेस युनियन, वन प्राविधिक सङ्घ, कुमाल सङ्घ र नेवाः खल गरी छ शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।  
पैंतीसमध्ये १८ जनसम्पर्क समितिको म्याद समाप्त 

यसैगरी काँग्रेसका हाल अष्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाऊ, मलेसिया, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, सउदी अरेबिया, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकालगायत ३५ मुलुकमा जनसम्पर्क समिति छन् । 

त्यसमध्ये हाल १८ जनसम्पर्क समितिको समयमै महाधिवेशन हुन नसकेर केन्द्रीय समितिको कार्यकाल समाप्त भइसकेको छ ।

पार्टीको भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका जनसम्पर्क समितिलाई पनि छ महीनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै