• २०८१ बैशाख १२ बुधबार

रेडक्रस सोसाइटीको पोखरामा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

kharibot

पोखरा । उत्थानशिल समुदाय निर्माणका लागि सहयोग, सहअस्तित्व र सहकार्य भन्ने मूल विषयका राखी गण्डकी प्रदेश स्तरीय विपद् जोखिम व्यवस्थापन सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको आयोजनामा कास्कीको पोखरामा आज सम्पन्न भएको छ । 

नेपाल सरकार गण्डकी प्रदेश, स्थानीय निकायका जन निर्वाचित प्रतिनिधिहरु र उच्च पदस्थ कर्मचारीहरु, मानविय सहायताका क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरु, रेडक्रस अभियानका अंगहरुका साथै शैक्षिक क्षेत्रका, नीजि क्षेत्रका बुद्धिजीविहरु सुरक्षा निकायका प्रतिनिधिहरु र समुदायका प्रतिनिधिहरु समेत विभिन्न सरोकारवाला निकायहरुका एक सय जना भन्दा बढिको अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय र नेरेसो कास्की जिल्ला शाखाको आयोजना भएको सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको सुभारम्भ गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका माननीय सभामुख नेत्रनाथ अधिकारीले विपद् व्यवस्थापन सबैको चासोको विषय रहेको र रेडक्रसको भूमिका सह्रानीय रहेको बताउँदै भने, “विपद् स्थानीय तहमा हुने भएकाले सबैले विपद् पूर्वतयारीमा जुट्नु पर्दछ ।”

पोखरा महानगरका प्रमख मान बहादर जि.सी.ले नगरपालिका स्तरमा शहरी विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा गरिएका प्रयासहरु र आगामी योजनाका बारेमा उल्लेख गर्नुहुँदै नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित सेवामूलक कार्यहरुले समुदायको उत्थानशीलता प्रवद्र्धधनमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै सोसाइटीद्धारा सञ्चालित उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रमले समुदायमा पारेको सकारात्मक प्रभावको प्रसंसा गरे । उक्त कार्यक्रमद्धारा सञ्चालित गतिविधिहरुका कारण नगरपालिकासँगको सहकार्य र समन्वयमा अझ अभिवृद्धि भईरहेको कुरामा विशेष जोड दिए ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सम्बोधन गर्दै भने, “ नेपाल रेडक्रले आफ्नो स्थापनाको कालदेखिनै मानिसको जीवन रक्षा तथा स्वास्थ्य सुरक्षाको लागि समुदाय केन्द्रीत कार्यक्रमहरु समुदायमा संचालन गरेको र सरकारको प्राथमिकताको क्षेत्रमा काम गरी राष्ट्रिय लक्ष्य प्राप्त गर्न सहयोग गर्दै आएको छ ”।  

अन्तरक्रिया कार्यक्रममा उपस्थित गण्डकी प्रदेश सभाका माननीय प्रदेश सभा सदस्यहरुले गण्डकी प्रदेश स्तरमा विपद् जोखिम व्यवस्थापनका कार्यक्रमहरुलाई योजनाबद्ध रुपमा अगाडि बढाउन रेडक्रसलाई सुझाव दिर्दै सो का लागि आ—आफ्नो तर्फबाट सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरे । विपद् जोखिम व्यवस्थापनमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिहरुले प्राविधिक प्रस्तुती गरेका थिए । 

विपद जोखिम न्यूनीकरणका राष्ट्रिय नीति, रणनीति, कार्ययोजना र विपद् जोखिम न्यूनीकरणको मूलप्रवाहीकरणका विषयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशको तर्फबाट गोपी चन्द्र रेग्मी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण विषयमा रिनु थपलिया, स्थानीय सरकार (पोखरा महानगरपालिका) का तर्फबाट शहरी विपद् जोखिम न्यूनीकरणका प्राथमिकता, चासो र चुनौतीका विषयमा महानगरका विपद् व्यवस्था प्रमुख बसन्त चालिसे, जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट कास्की जिल्लाको विपद् पूर्वतयारी र प्रतिकार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको भूमिका विषयमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बराल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट विपद् जोखिम व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीको भूमिकामा नेरेसोका उपनिर्देशक रुद्रनारायण अधिकारी, कार्यकारी निर्देशक उमेश प्रसाद ढकाल, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधानले प्रस्तुती गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सभापती डोलराज पाण्डेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै