• २०८१ बैशाख ८ शनिबार

मूल्य घटाउँदा पनि बिक्री भएन खाद्य संस्थानको चामल

kharibot

फाइल तस्बीर

मार्तडी । जिल्ला सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । 

बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भएपनि बिक्री हुन नसकेको हो । दशैँ तिहार आउनअगावै चामल किन्नेको घुइँचो हुने संस्थानमा पछिल्लो समय चामल बिक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताए । उनले भने, “कम मात्रामा चामल बिक्री हुन थालेपछि दशैँ र तिहारका लागि संस्थानको गोदाममा चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।”

बजारका पसलहरुमा सहजै चामल पाउन थालेपछि संस्थानको चामल कम मात्रामा बिक्री हुन थालेको प्रमुख ओझाको दाबी छ । खाद्य संस्थान बाजुराले प्रतिकिलोग्राम मोटो चामल रु ४५, सोना मनसुली रु ४८ र जिरा मसिना चामल रु ६२ का दरले बिक्री गर्दै आएको छ । “बजारको मूल्यभन्दा रु पाँचभन्दा कम मूल्यमा बिक्री गर्दा पनि चामल लिने उपभोक्ताहरु खासै आउने गरेको छैन्”, प्रमुख ओझाले भने । 

उनका अनुसार, विगतमा दैनिक १५० जनाले चामल किन्न संस्थानमा आउने गर्दथ्यो तर यो वर्ष दैनिक ४० जना पनि मुस्किलले चामल किन्न संस्थानमा आउने गरेका छन् । संस्थानका चामल खरिद गर्ने उपभोक्ताहरु ह्वात्तै घटेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यसरी चामल किन्ने उपभोक्ताहरु घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउन सक्छ, शाखा प्रमुख ओझाको भनाइ छ । 

दशैँमा खाद्य अभाव नहुने 

यस वर्षको दशैँ र तिहारमा खाद्य अभाव नहुने भएको छ । गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिए । 

सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिए । विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उनको भनाइ छ । 

मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७०० र सोना मनसुली ७८१ क्विन्टल चामल रहेका छन् । तीमध्ये साउन महीनामा मात्र २०० क्विन्टल चामल बिक्री भएको छ । 

अघिल्लो वर्ष साउन भदौमा एक हजार १०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ । 

यसैगरी पूर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरी स्थापना गरिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६००, जिरा मसिनो दुई हजार ५०० र मोटो चामल एक हजार ५०० क्विन्टल रहेको छ ।

बिक्री केन्द्रमा चामल छैन

जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीय तहलाई लक्षित गरी कवाडीमा सञ्चालन गरिएको बिक्री केन्द्रमा चामलको अभाव रहेको छ । केन्द्रमा चामलको अभाव भएपछि उपभोक्ताहरु रितो हात घर फर्कन बाध्य भएका छन् । दशैँ तिहारका लागि जोहो गर्न केन्द्रमा आउने स्थानीय उपभोक्ताहरुले चामल नपाएपछि बजारबाट चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो स्थानीयवासीको छ । 

बिक्री केन्द्रबाट हिमाली गाउँपालिकाका बिच्छ्या, रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयवासीलाई चामल बिक्री हुँदै आएको छ । चामल ढुवानीका लागि ठेक्का प्रक्रिया सम्झौता भईसकेकाले दशैँ अगावै चामल पुर्याउने गरी पहल भइरहेको प्रमुख ओझाले बताए । उनले बिक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेक्का प्रक्रियाको माध्यमले कोल्टीबाट चामल पुर्याएर बिक्री गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उनको दाबी छ । 

हिमाली गाउँपालिकाको बिच्छ्याबाट कोल्टी आउनजान चार दिनको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । सोही अवस्थालाई मध्ये नजर गर्दै कवाडीमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले बताए । 

तीन बिक्री केन्द्र माग

नेपाल खाद्य संस्थान बाजुराले तीन वटा स्थानीय तहका लागि खाद्यान्न बिक्री केन्द्र माग गरेको एक वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन् । 

जिल्लाको जगन्नाथ गाउँपालिकाको जुड्डी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमूल गाउँपालिकाको घटमुनाका लागि बिक्री केन्द्र राख्नुपर्ने माग नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयसंग गरेको भए पनि हालसम्म स्वीकृत भएर नआएको प्रमुख ओझाको भनाइ छ । 

भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउन माग गरेको बताइएको छ । माग गरिएका क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा आए स्थानीयवासीले महँगोमा चामल किन्ने समस्या हट्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै