• २०८१ बैशाख ८ शनिबार

कविकुञ्जलाई सङ्ग्रहालय बनाइँदै

kharibot

फाइल तस्बीर

काठमाडौँ । सरकारले मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने भएको छ । इँटा र माटाको प्रयोगले निर्माण भएको कविकुञ्ज अहिले जीर्ण अवस्थामा पुगेको छ ।

विसं २०७२ मा आएको भूकम्पले घरका भित्री भागमा क्षति पु¥याएको छ । भूकम्पअघि मानिस भाडामा बस्दै आए पनि अहिले प्रयोगमा छैन । निकै जीर्ण रहेर भत्कने अवस्थामा पुगेकाले अहिले रहेको घरकै आकार र डिजाइनमा नयाँ भवन निर्माण हुने भएको छ ।

देवकोटाले जीवनको धेरै समय सोही घरमा बिताएका थिए । यही घरमा बसेर देवकोटाले थुप्रै साहित्य सिर्जना गर्नुभयो । फलस्वरुप उहाँ नेपाली साहित्यिक जगत्मा कहिल्यै नअस्ताउने गरी चम्किरहे ।

आदिकवि भानुभक्त आचार्यका सामग्रीसहित  तनहुँमा सानो सङ्ग्रहालय बनेको छ भने काठमाडौँ सोह्रखुट्टेमा कविशिरोमणि लेखनाथ पौड्यालका केही सामग्री राखेर लेखनाथ सदन निर्माण भएको छ । रमेश विकल प्रतिष्ठानले पनि सङ्ग्रहालयको प्रयास गरेको छ भने  मोतीराम भट्ट, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपि शेरचन, पारिजात आदि  मूर्धन्य साहित्यकारको सङ्ग्रहालय बनिसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा कविकुञ्जलाई सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । गत वर्ष लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने घोषणा गरेपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो । जग्गाको मूल्याङ्कन गर्न सरकारले मुआब्जा निर्धारण समिति गठन गरेको थियो । बाह्र आना क्षेत्रफलमा फैलिएको जग्गाको रु पाँच करोड १२ लाख मूल्याङ्कन गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिमा देवकोटा परिवार, संस्कृति, पर्यटन तथा नागरिक उड्यन  मन्त्रालय, मालपोत कार्यालय, नापी र गुठी कार्यालयका प्रतिनिधि सदस्य छन् ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विसं २०७५ मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले देवकोटाको घरलाई नेपाल प्रज्ञा–प्रतिष्ठान मातहत लिएर सङ्ग्रहालय बनाउने निर्णय गरेअनुरुप प्रक्रिया अघि बढिरहेको बताए ।

“जग्गा प्रतिष्ठानको नाममा ल्याएपछि सङ्ग्रहालय निर्माणको कार्य अघि बढ्छ”, उनले भने, “प्रक्रिया झण्झटिलो हुँदा केही ढिला हुन पुगेको हो ।” उनले अब जग्गा प्रतिष्ठानका नाममा ल्याउने कार्य अन्तिम चरणमा रहेकाले निर्माण शुरु हुन धेरै समय नलाग्ने बताए । 

कविकुञ्ज पशुपति महागुठीअन्तर्गत पर्छ । जग्गाको रकम गुठी र देवकोटा परिवारलाई आधाआधाका दरले उपलब्ध गराइने भएको छ । महाकवि देवकोटाले आफ्नो नाममा रहेको घर छोरी मीरा देवकोटाका नाममा गरिदिएका थिए । छोरी मीरा पनि दिवङ्गत भइसकेकाले जेठा छोरा प्रा डा पद्मप्रसादका नाममा नामसारी गरी संस्कृति मन्त्रालय मातहत ल्याइएको छ । जेठा छोरा अमेरिका र कान्छा दीपकप्रसाद अष्ट्रेलियामा बस्दै आएका छन् ।

संस्कृति मन्त्रालयबाट जग्गालाई प्रज्ञा –प्रतिष्ठानका नाममा ल्याउने प्रक्रिया शुरु भएको प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए ।  “जग्गा प्रतिष्ठानको नाममा आएपछि मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई बजेट विनियोजन गर्न पत्राचार गर्छ”, उनले भने, “त्यसपछि डिपिआर गरेर काम अघि बढाउँछौँ ।” उहाँले अबको एक वर्षभित्र निर्माण सम्पन्न गरिने बताए । 

सङ्ग्रहालयमा लक्ष्मीप्रसाद देवकोटासँग सम्बन्धित विभिन्न सामग्री राखिने छ । “साहित्यिक कृति, उनका अडियो भिडियोसहितका प्रवचन, विभिन्न तस्वीर राखिने छ”, उनले भने, “पुस्तकालय, सेमिनार हलसहितको आकर्षक भवन निर्माण गर्नेछौँ ।” उनले देवकोटाको जीर्ण घर भत्काएर उही आकार र डिजाइनमा सरकारले सङ्ग्रहालय बनाउने निर्णय गरेर उहाँप्रतिको उच्च सम्मान दर्शाइने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै