• २०८१ बैशाख ८ शनिबार

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

kharibot

हेटौँडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेंगु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएको छ ।

बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् । उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको डेङ्गु भदौको प्रारम्भसँगै परेको झरीका कारण डेंगु सार्ने लामखुट्टेको प्रजनन वातावरण अनुकूल भइदिनाले एकाएक माहामारीको रूप लिन पुग्यो । 

उनका अनुसार हेटौँडा–४ मा दैनिक पाँचका दरले डेङ्गु सङ्क्रमण बढिरहेकामा भदौ लागेपछि त्यो दर बढेर दैनिक १५ पुगेको छ । हाल भइरहेको वर्षाले पनि डेङ्गुलाई बढाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ । डेङ्गु नियन्त्रणमा प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समितिसमेत लागिपरेका छन् ।

चितवन तथा मकवानपुरलगायत प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु नियन्त्रणमा प्रदेश सरकार लागिरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको भनाइ छ ।

डेङ्गु नियन्त्रण गर्न औषधि छर्किनेबाहेक हरेक उपाय अपनाइएको उनले बताए । मन्त्री दुलालले औषधि छर्किँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नहुने जानकारहरुको सल्लाहअनुसार औषधि नछर्किएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै