• २०८१ बैशाख ७ शुक्रबार

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

kharibot

बाजुरा । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई  करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।
 
उद्योग वाणिज्य सङ्घका कार्यालय सचिव टेकबहादुर धामीले रु डेढ करोडदेखि दुई करोडसम्मको मदिरा यसै महीनामा मात्रै कारोवार भएको बताए । व्यावसायिक प्यान नम्बर लिएका मदिरा पसलबाट न्यूनतम एक महीनामा रु दुई करोडभन्दा बढी मदिरा खपत भएको र त्योसँगै लाखौँका स्थानीयवासीद्वारा उत्पादन गरिएको अवैध मदिरा पनि बिक्री हुने गरेको उनको भनाइ छ ।
 
मदिरा पसलको कारोवारका लागि जिल्लाभरि ८४१ ले अनुमतिपत्र प्यान नम्बर लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । मदिरा पसल नवीकरणबाट यो असोजसम्ममा गत वर्षको रु ३५ लाखभन्दा बढी राजश्व सङ्कलन हुने निमित्त कोष तथा लेखा नियन्त्रक धनबहादुर थापाले जानकारी दिए ।
 
आठ सय ४१ मदिराका पसलमध्ये १२ पसल मात्रै भ्याटमा दर्ता छन् भने बाँकी सबै पसल प्यानमा कारोवार गरिरहेका जनाइएको छ । जिल्ला सदरमुकाम मार्तडीपछिको ठूलो व्यापारी केन्द्र कोल्टी बजारमा मदिराका थोक बिक्रेता मङ्गल थापाले मासिक रु ३० देखि ४० लाखसम्मको मदिरा बिक्री गर्ने गरेको बताए । 

जिल्ला प्रहरी कार्यालयले गत वर्ष असोजदेखि हालसम्म करीब १५ हजार लिटर घरेलु मदिरा जफत गरेर नष्ट गरेको जनाएको छ । घरेलु मदिरा उत्पादन गर्न सबैजसो खाद्यान्नको बनाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । जिल्लाका स्थानीय तह त्रिवेणी नगरपालिका, बूढीगङ्गा नगरपालिका, हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकाले मदिरा निषेध गरेको छ भने गौमुल गाउँपालिकाले मदिरा सेवन बन्द नगरे पनि व्यवस्थापन गरेर मदिरा सेवन कार्ड प्रयोग गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै