अमेरिका । के तपाईले यो फोटो फिचर आफ्नो हाते डिभाइसमा त हेर्दै हुनुहुन्न ? सायद पक्कै पनि तपाईं आफ्नो स्मार्टफोन, ट्याब अथवा अन्य कुनै ग्याजेट हातमा लिएर यो फिचर हेर्दै हुनुहुन्छ ।
अब कल्पना गर्नुहोस्, यदि त्यो डिभाइस अचानक गायब भयो भने तपाईं कस्तो देखिनुहुन्छ होला ? एक्लो ? केही पागलजस्तै ? अर्कोतिर रहेको सुन्दर दृश्य अनि व्यक्तिलाई बेवास्ता गरेजस्तो ?
हामीले बोकिरहेका ती ग्याजेटका स्क्रीनले हामीलाई शोषण गरिरहेका छन् । घरपरिवार अनि साथीभाइसँग समूहमा रहँदा समेत हामी तिनलाई बेवास्ता गर्दै आफ्नो ग्याजेटमा झुम्मिरहेका हुन्छौं । यसरी व्यक्तिहरु स्मार्टफोनको शिकार बनिरहेको दृश्य अहिले जताततै देख्न सकिन्छ ।
अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले रिमुभ्ड नामक एक फोटो सिरीजको सुरुवात गरे । उनले यस सिरीजको माध्यमले मानिसहरुको हालको अवस्था कति अनौठो छ भन्ने देखाउन खोजेका छन् ।
उनले आफूले खिचेको हरेक तस्वीरमा व्यक्तिले चलाइरहेको इलेक्ट्रोनिक डिभाइसलाई इडिट गरेर हटाएका छन् । तस्वीरमा देखिएका व्यक्तिहरुले आफ्नो हातमा नियालिरहेको जस्तो देखिन्छ । उनीहरुको हात खाली छ ।
उनीहरुले आफ्नो वरिपरिको सुन्दर परिदृश्य र व्यक्तिगत सम्बन्धलाई पूर्णतया बेवास्ता गरेजस्तो लाग्दछ । यदि हाम्रो हातमा रहिरहेको ग्याजेट अचानक गायब हुँदो हो त त्यसपछि देखिने दृश्य कति अचम्म, डरलाग्दो र दुःखदायक हुन्छ होला ।