• २०८१ बैशाख ७ शुक्रबार

शिक्षक को हो ?

kharibot

नेपाली बृहत् शब्दकोशमा शिक्षक शब्दको अर्थ यस्तो छ : शिक्षक: [सं०] शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति; अध्यापक; गुरु; मास्टर।

शिक्षक शब्दमा प्रयोग भएको अक्षर  शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ ।

शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ। यहाँ `गुरु´ को `गु´ ले अंधकार र `रु´ ले तेज लाई जनाउँछ। ज्ञान रुपि प्रकाश दिएर अंधकारलाई हटाउने  ब्यक्ती नै गुरु मानिन्छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले भनेजस्तै शिक्षक सूचना प्रवाहकर्ता, प्रवर्धनकर्ता, विद्यार्थीसँग सहकार्य गरि सिक्ने र सिकाइ संस्कृतिको खुल्ला बाताबरण सिर्जना गर्ने ब्यक्ति हो या आधारभुत शिक्षा पाठ्यक्रम २०६९ ले भनेजस्तै सिकाइ सहजीकरण प्रक्रियाको सहजकर्ता, उत्प्रेरक, प्रवर्तक र खोजकर्ता हो या शिक्षा ऎन २०२८,ले भने जस्तै शिक्षक बिद्यालयको अध्यापक हो । या को हो ?

जोन एडम्सले शिक्षकलाई मानवको निर्माता मानेका छ्न् भने वाइल्डले बच्चालाई खुशी राख्ने ब्यक्ति । त्यस्तै रुसोले विद्यार्थीको पन्ना पन्ना पढ्ने ब्यक्तिको रुपमा हेरेका छ्न् भने  प्लेटोले शिक्षकले विद्यार्थीको प्रकृति थाहा पाउने ब्यक्ति भनेका छ्न् ।

लेखक : प्रकाश पाण्डे 

शिक्षक प्रकृतिवादले भने जस्तो केवल वालकको अवलोकनकर्ता र मञ्च निर्माता मात्र हो या यथार्थवादले भने जस्तो कक्षा कोठामा वास्तविक ज्ञान प्रदान गर्ने ब्यक्ति या आदर्शवादले भने जस्तो विचार खन्याउन सक्ने ब्यक्ति या प्रयोगवादले भने जस्तो समस्या समाधानको परामर्शदाता या अस्तित्वादले भने जस्तो विद्यार्थीहरुलाई आत्मअनुभूति प्राप्तिका कार्यमा सहयोग पुर्‍याउने हो या प्रतीकात्मकवादले भने जस्तो चेतना र अभिप्रायमा केन्द्रीत हुने ब्यक्ति या निर्माणवादले भने जस्तो सिकारुलाई सिर्जनशील बनाउने ब्यक्ति हो या शिक्षक को हो ? असलमा शिक्षक चाहिँ हुनुपर्ने कुन वादले भने जस्तो ।

के अत्याधुनिक सूचना, सञ्चार, विज्ञान र प्रविधिको विकाससंगै एप्पलको सिरी, फेसवुकको मेसेन्जर बुट, अमेजनको एलेक्सा आदिले शिक्षकको भूमिकालाई निर्धारण गरिदिएको हो ?  कि अत्याधुनिक प्रविधिहरु कम्प्यूटर,  मोवाइल,  रोवोट, ल्यापटप,  ट्यावलेट, पाल्मटप, फ्यावलेट,  ओएचपी स्मार्टवोर्ड जस्ता मल्टिमिडियाहरु  वालवालिकाको आवश्यकता,  चाहना र रुचिहरु पूरा गर्ने साधन वनेर आउदा शिक्षक को हो भन्ने थप जटिल बन्न पुगेको हो ?  गुगल,  विकीपिडिया,  युट्युव,  एप्स  टेक्स्ट बनेर आउदा इन्टरनेट वालकको मनोसामाजिक ब्रमाणड बनेर आउदा शिक्षक अब को हो भन्ने कुरा समयले निर्धारण गर्ने भो ? एउटा मेमोरी कार्ड भित्रको वाइट नै शिक्षकको पुरै विकल्पमा र विद्यार्थीको सपोर्टमा उभिदा, अनलाइन लर्निङ  (भाइवर,  इमो,  ह्वाट्सअफ, फेसबुक, लाइभ च्याट,  ट्वीटर) भर्चुअल लर्निङ्ग,  सुपररियालिटी, भिडियो एजुकेशन जस्ता पछिल्ला सिकाइ शैली,  विधि र पद्धतीले शिक्षक आफै कन्फुयूज भएको हो?  त्यस्तै  अझ पछिल्ला जीनोथेरापी,  डिजाइनर  शिशु,  कृत्रिम बौद्धिकताले शिक्षक को हो भन्ने छिनोफानो गर्ने हो । कि भुमिका सम्पूर्णरुपमा बदलिएको हो? कि सिद्दिएको हो?

कि शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने,बाटो देखाउने निर्देशित गर्ने, हौसला प्रदान गर्ने  र ज्ञानलाई माया गर्ने गर्दछ । कहिले शिक्षकलाई आफू जलेर अरुलाई उज्यालो बनाउने बत्तीसगँ तुलना गर्ने गरिन्छ । कहिले नदिमा डुङ्गा खियाउने माझी जस्तै शिक्षक पनि हो भन्ने गरिन्छ । शिक्षक तीनवटा `प` प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता हो भनिन्छ ।

समय भन्दा ठूलो शिक्षक अरु को छ र ? रित्तो गोजी र भोको पेटले दिने ज्ञान कुनै महान गुरुले दिन सक्छ्न् र? भनेर पनि भन्ने गरिन्छ ।

ह्वाइटहेड ले भने जस्तै सम्पूर्ण कुरा शिक्षकमा भर पर्छ । शिक्षक ले आफूले के भन्छ ? भन्दा पनि के गर्छ ? ले आफ्ना विद्यार्थीमा प्रभाव पार्छ । खासगरी कमजोर विद्यार्थीमा प्रभावकारी शिक्षण गर्ने ब्यक्ती शिक्षक हो कि शिक्षक बालकको एउटा रोड मोडल हो । जोहन डिवेले शिक्षक बालबालिकालाई जीवनको जटिल क्षणमा निर्देशन दिने ब्यक्तिको रुपमा हेरेका छ्न् । उनी भन्छ्न्- शिक्षक एउटा असल मित्र हो; एक दार्शनिक हो र एक पथप्रदर्शक हो । "शिक्षक शिक्षाको त्रिपक्षिय प्रक्रिया शिक्षक- विद्यार्थी र सामाजिक बाताबरणको एक ससक्त पक्ष हो। किर्किगाडले शिक्षक जो हो त्यो होइन र जो होइन त्यो हो भनेका छ्न् । त्यस्तै पियाजेटले शिक्षकलाई सहजकर्ताको भुमिकामा हेरेका छ्न् । हामी भन्न सक्दैनौं ? कतै कोक्रोदेखि चिहानसम्म हुने सिकाइमा मद्दत गर्ने आफू भित्रको मान्छे नै शिक्षक त होइन ?

भनिन्छ,"शिक्षक उड्यो भने विद्यार्थी दौडन्छ ,शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी बस्छ, शिक्षक बस्यो भने विद्यार्थी सुत्छ, शिक्षक सुत्यो भने विद्यार्थी मर्छ ।"

यी वाक्यको आशयबाट तपाईले बुझि सक्नु भो शिक्षक को हो भनेर ।

शास्त्रमा संस्कृत श्लेक "गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ।।" ले गुरुलाई आदर्श पुरुषको रुपमा मानेको छ । निष्काम कर्म मार्गदर्शन सिद्धान्त भएको ब्यक्ति गुरु । त्यस्तै "प्रेरकः सूचकश्वैव वाचको दर्शकस्तथा । शिक्षकको बोधकश्चैव षडेते गुरवः स्मृताः ॥" ले प्रेरणा दिने, सूचना दिने, सत्य बताउने, बाटो देखाउने, बोध गराउने ब्यक्ती गुरु भनेर ब्याख्या गर्छ । निर्वाणको लागि द्वादश निदान र अष्टमार्गको बोध गराउने ब्यक्ति गुरु हो कि बाइबललाई माया गर्ने ब्यक्ती गुरु हो कि वेदलाई या कुरानलाई ।

आजको युगमा शिक्षकको रुप र सारलाई भन्दा प्रकार्यलाई बढी महत्व दिने हुँदा शिक्षक को हो भनेर प्रकार्यमा हेरिन्छ । उनिहरु जहाँ अवतरित हुन्छ्न त्यहाँ उनीहरु फिक्का, मौन र गौण देखिएका छन् रे । जे भने त्यो गरेनन् र जे गरे त्यो भनेनन् त्यो भन्न पनि मिल्दैन । अधिकांश शिक्षक विद्यार्थीहरुलाई सिर्जनशीलता बिकासका लागि प्रोत्साहन गर्न चाहन्छ्न् तर त्यो कसरी बिकास गर्ने भन्ने कुरामा सुनिश्चित हुदैनन् । भन्ने कुरा आएको छ । के तिनै हुन् त शिक्षक ? जो प्रकार्य तथा प्रयोगहरु गर्दैनन् गरिहाले थुप्रै नियन्त्रणहरु र हस्तक्षेपहरु गर्छन । जो सिर्जनशीलताको बिकासको तरीका जान्दैनन् । कि होइनन् तिनीहरू !

ब्राण्ड हेनरी भन्छ्न्-"एउटा असल शिक्षकले आशा जगाउँछ, कल्पना उद्दिप्त गर्छ र सिकाइमा बिस्तारै प्रेम भर्छ ।" त्यस्तै डेभल प्याटृकको मत यस्तो छ- विद्यार्थीलाई थुप्रै फरक पार्न सक्ने उत्तेजना र प्रेमले भरिएको एक महान ब्यक्ती शिक्षक हो ।" 

एउटा असल शिक्षक हुनु सबैभन्दा जटिल काम हो । किनकी शिक्षकसँग आशा, विश्वास, आदर्श र अपेक्षा उच्च गरिएको हुन्छ । ग्यालिलियो भन्छ्न्- "एउटा मानिसलाई तिमी केहिपनी पढाउन सक्दैनौँ तिमी उसलाई त्यो ऊ भित्र पत्तालगाउन मद्दत गर्न सक्छौँम ।

"शिक्षकले बालबालिकाको भित्रि क्षमता पत्तालगाउन मद्दत गर्न सक्छ । बिल गेट्सले शिक्षकलाई बालबालिकासँग खेल्ने र उत्प्रेरणा जगाउने ब्यक्तिको रुपमा हेरेका छ्न् । स्वामी विवेकानन्दले तिमी भित्रबाट बाहिर वृद्धि हुनुपर्छ । कसैले तिमीलाई पढाउन सक्दैन् ।

कसैले तिमीलाई आध्यात्मिक बनाउन सक्दैन् । तिम्रो आत्मा भन्दा त्यहाँ अर्को शिक्षक छैन्" भनेका छ्न् । समय नै सबै भन्दा ठूलो गुरु हो । समयले सबै आफै सिकाउदै लैजान्छ । साहित्यकार अमर न्यौपाने भन्छ्न् उमेरले नै सबै कुरा सिकाउदै लैजान्छ । उमेरभन्दा ठूलो गुरु केही छैन् ।

विलियम अर्थर वार्ड भन्छ्न्-- "कम्जोर शिक्षकले भन्छ।असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।" त्यस्तै इलेनोर रुज्भेल्ट भन्छ्न्-"सानो दिमागले सधै मानिसहरुको कुरा गर्छ । मध्यम दिमागले सधै घटनाहरुको कुरा गर्छ । महान दिमागले सधै बिचारहरुको कुरा गर्छ ।" यहाँ  भनेजस्तै प्रेरणा दिने र बिचार प्रदान गर्न ब्यक्ती चाहिँ शिक्षक  हो ? कि को हो ?

कि जर्ज बर्नाड शाले भनेको,"जसले काम गर्न सक्दैन, उसले पढाउँछ !" भन्ने ब्यक्ति शिक्षक हो त ?

कि एरिसटोट्लले भनेको "तीनीहरु जो जान्दछ्न् गर्छन, जो बुझ्छन् पढाउँछ्न् ।" चाहिँ शिक्षक हुन् ।

कि जोह्न हेनरिकले भनेजस्तै कलाकारले जस्तै गरि पहिला दर्शकको ध्यान खिचेर  त्यसपछि पढाउने ब्यक्ति चाहिँ शिक्षक हो । कि नेपाल सरकारले भन्ने गरेको शिक्षकहरुले पढाउँदैनन् मा प्रकार्य भएको ब्यक्ति चाहिँ शिक्षक हो । कि त बालकृष्ण समले भनेको श्लोकवद्ध वाक्य :
"पढाउँछु भनी गर्व गर्नुहुन्छ भने गुरु,
गएर एउटा चिल्लो ढुंगालाई पढाउँनुहोस्।"

यहि हो शिक्षक कि को हो ? शिक्षक सबै बालबालिका सिर्जनशिल हुन भन्ने चाहना राख्ने तर आफू चाहिँ हुन् नसक्नेहरु त होइनन् कतै ?

शिक्षकमा सामन्य कि विशिष्ट ज्ञान हुनुपर्ने ? विशिष्टिकृत ज्ञान हुनुपर्ने भए के के बिषयमा हुनुपर्ने ? यकिन नभएपछि  कसरी मापन र मुल्यांकन गर्ने ऊ को हो भनेर !

के शिक्षक आम मानिस पनि हो? सर्वसाधारण पनि हो?नागरिक पनि हो ? कि होइन ?  के उसको पनि निजी जीवन हुन्छ ?  किन जोडिन्छ यति धेरै बिशेषता । कि हुनु नै पर्ने सबै । कि नहुदा पनि हुने केही ? कि हुन्छ नभए पनी कुनै । कति सजिलो देखिन्छ प्रश्न शिक्षक को हो ? तर उत्तर कति गार्‍हो। अझ शिक्षक भएर निभाउनु त फलामको च्युरा चपाउनु सरह सार्‍हो । किन शिक्षकलाई यति जटिल बनाइयो ?

शिक्षक को हो ?भनेर देखिने सरल देखिने प्रश्न नै सबभन्दा किन गार्‍हो? शंखर लामिछाने ले त्यसै भनेका होइन रहेछ्न्-- " सरल वाक्य सबैभन्दा जटिल हुन्छ।" बास्तवमा शिक्षकलाई पनि देखिनुमा भन्दा हुनुमा र सारमा हेर्नुपर्छ । जुन ज्यादै जटिल छ या सरल छ । या के छ ?

कि मृत्यु बोधले नै जीवन सिकाउने हुदा सबै भन्दा ठूलो शिक्षक कतै मृत्यु त होइन ? यसलाई पनि गम्भीर रुपले मनन् गरौँ। कि हो चाही शिक्षक को ?

शिक्षक  प्रत्यक्ष यथार्थ,  परोक्ष  यथार्थ,  अतियथार्थ  र  मायिक  यथार्थ  संसारको  कुन कित्तामा छ ? या यी संसार उसमा कति कति छ ले पक्कै पनि शिक्षक को रहेछ्लाई पो जनाउँछ की ?  कतै शिक्षकको भुमिकालाई समाजको जन्म र अवसानमा हेर्दा शिक्षक को हो भन्ने प्रश्न झन जटिल, दार्शनिक र पेचिलो पो बन्न पुगेको  त छैन् ? कि पदार्थको सुक्ष्म कण क्वार्ज जस्तो एकपल्ट हेर्दा एउटा अर्कोपल्ट हेर्दा अर्कै देखिने बिज्ञानले मानेको गड पाटिक्ल्स त होइन ? म जस्तो ले कसरी यकिन गरुँ शिक्षक यहि हो भनेर आफूले आफैलाई रनभुल्लमा छु हजुर । तपाईं नै फेरि एकपटक भनिदिनुहोस र लगाइदिनुहोस न अर्थ शिक्षक यहि हो भनेर। यहाँलाई धेरै धेरै धन्यवाद ।


(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी-२ मोरङका शिक्षक हुन् )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै