• २०८१ बैशाख ७ शुक्रबार

कुमार पन्तद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारीको घोषणा 

kharibot

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षका उम्मेदवार कुमार पन्तले मुलुकको विकास र समृद्धिका लागि लगानी भित्र्याउने घोषणा गरेका छन् ।

सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । 

उनले आफ्नो कार्यकालमा सानादेखि ठूला लगानीलाई अभियानमा समाहित गरी रु १० अर्बको सामूहिक लगानी कोषलाई मूर्तरुप दिने बताए । विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन नवीन पहल अघि बढाउने उनको उद्घोष थियो । पन्तले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन विश्वभर नेपालको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विशेष भूमिका निर्वाह गर्ने बताए । 

सङ्घलाई कुनै पनि राजनीतिक छत्रछायाबाट मुक्त गरी विशुद्ध गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल बाहिर रहेको सबै नेपालीलाई समेट्ने बताए । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले अत्यन्त न्यून ज्यालामा काम गर्नुपरेको अवस्था आफूले नजिकबाट नियालेको उल्लेख गर्दै पन्तले सुरक्षित र सम्मानपूर्ण वैदेशिक रोजगारीका लागि नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने बताए । 

पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन् । सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन् । उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन् । 

उनी अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को उपाध्यक्ष हुन् । उपाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रको संयोजक भएका थिए । सन् २००९–२०११ मा आइसिसी सदस्य भएसँगै उहाँले युरोप क्षेत्रको संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसपछि उनी सन् २०१३–२०१५ मा सङ्घको महासचिव भए । २०१५ यता उनी आइसिसी उपाध्यक्ष हुन् ।

विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका उनी जर्मनीको फ्र्याङ्कफर्टमा बसोबास गर्छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै