• २०८१ बैशाख ८ शनिबार

वैदेशिक रोजगार व्यवसायी निर्वाचन : दुवै समूहबाट उम्मदवारी घोषणा

kharibot

काठमाडौँ । आसन्न नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचनका लागि प्रगतिशील समूह र लोकतान्त्रिक समुहबाट उम्मेदवारी घोषणा भएको छ ।  

सङ्घको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ । नेपाली काँग्रेस  र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर निर्वाचनमा होमिँदै छन् । 

नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।

प्रगतिशील समुहबाट सरोजकुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्टी नेपालसँग निकट रहेका व्यवसायीको तर्फबाट पोखरेलले संयुक्त रुपमा उम्मदवारी दिने निर्वाचन परिचालन कमिटीका संयोजक रामप्रसाद भन्तनाले जानकारी दिए । 

संयुक्त व्यवसायीको तर्फबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सन्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बू (तेजु) ले उम्मेदवारी दिनेछन् ।

सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिने संयोजक भन्तनाले जानकारी दिए । 

त्यस्तै लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको छ । त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ । 

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ । 

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । 

सङ्घको आसन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस निकट म्यावनपार व्यवसायी आआफ्नो समूहको ‘प्यानल’ नै खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । सङ्घको नेतृत्व हातपार्न उनीहरु उम्मेदवार चयन गरी चुनावी रणनीति बनाउन जुटेका छन् । नेपाली काँग्रेस निकट व्यवसायी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आजै अन्तिम सूची प्रकाशन

निर्वाचनका लागि दुई समूह बनाएका व्यवसायीका उम्मेदवारले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । सङ्घको कार्यालयमा उम्मेदवारी दर्ताको काम भइरहेको छ । आजै अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । त्यस्तै आजै उम्मेदवारमाथि परेको उजुरीको छानबिन हुने कार्यक्रम छ । साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गरिने सङ्घले जनाएको छ । भोलि साँझ ६ बजेसम्म निर्वाचनको प्रचारप्रसाद गर्न पाइनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै