• २०८१ बैशाख ७ शुक्रबार

एनआरएनएमा राजनीतिक भिडन्त, को बन्ला निर्णायक ?

kharibot

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन असोज २६ देखि २९ गते (अक्टोबर १३ देखि १६) सम्म काठमाडौंमा हुने भएको छ ।

सन् २०१७ मा भएको एनआरएनएको निर्वाचनमा एउटै टिमबाट जितेका दुई उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच अध्यक्षका लागि भिडन्त हुने लगभग तय भएको छ । 

अहिलेसम्म कुमार पन्तले गत शुक्रबार सङ्घको अध्यक्षका लागि आज उम्मेदवारी घोषणा गर्दै उनले मुलुकको समृद्धिका लागि गैरआवसीय नेपालीको सामूहिक तथा व्यक्तिगत लगानी भित्र्याउने आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पन्तको उम्मेदवारीलाई संयुक्त अरब इमिरेट्स, साउदी अरिबिया, मलेसियालगायत मुलुकका गैरआवासीय नेपालीले समर्थन गरेका छन् । सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन् । उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन् । 

उनी अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को उपाध्यक्ष हुन् । उपाध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो । सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका उनी अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रको संयोजक भएका थिए । सन् २००९–२०११ मा आइसिसी सदस्य भएसँगै उहाँले युरोप क्षेत्रको संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसपछि उनी सन् २०१३–२०१५ मा सङ्घको महासचिव भए । २०१५ यता उनी आइसिसी उपाध्यक्ष हुन् । विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका उनी जर्मनीको फ्र्याङ्कफर्टमा बसोबास गर्छन् ।  

गत जुलाईमा वर्तमान अध्यक्ष भबन भट्टले आफू दोश्रो कार्यकालमा उम्मेदवार नहुने घोषणा गरेपनि पन्त र आचार्यबीचबाट भट्ट नै फेरी अध्यक्ष बन्ने चर्चा पनि अहिले उत्तिकै  रहेको छ ।

कुल आचार्य बर्तमान कार्यसमितिमा उपाध्यक्ष हुन् । २००७ बाट गैरआवासीय नेपाली संघमा सक्रिय भएका आचार्य बेलायतको सदस्य हुँदै अध्यक्ष र गैरआवासीय नेपाली संघको युरोप संयोजक भइसकेका छन् । पर्वत जिल्लाको धाइरिङमा जन्मिएका आचार्य आचार्य दुई दशकयता बेलायतमा छन् ।

आचार्यले अहिलेसम्म औपचारिक घोषणा नगरेपनि उनी अध्यक्षमा लड्ने लगभग निश्चित जस्तै रहेको छ । उनले विभिन्न देशमा गएर अन्तरक्रिया गर्दै आफ्नो पक्षमा माहोल बनाउन व्यस्त रहेका छन् ।   

राजनीतिक उम्मेदवार :

हरेक संघ संस्थामा जस्तै एनआरएनएमा पनिराजनीतिक प्रभावबाट अछुतो नरहने देखिएको छ । अहिले अध्यक्षका उम्मेदवार घोषणा गरिसकेका कुमार पन्तलाई सत्तारुढ दल नेकपाको उम्मेदवारको रुपमा हेरिएको छ । प्रधानमन्त्री केपी ओलीको समर्थनमा नै पन्तले उम्मेदवारी घोषणा गरेको चर्चा रहेको छ ।

त्यस्तै कुल आचार्यलाई भने प्रतिपक्षी दल नेपाली काँग्रेसको समर्थन रहने छ । औपचारिक रुपमा नभनिएको भएपनि आचार्य काँग्रेसको औपचारिक उम्मेदवार बन्ने निश्चित रहेको छ ।

करिब ३ हजारको हाराहारीमा विश्वभरबाट आउने प्रतिनिधिहरुमा तेस्रो पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत प्रभाव बलियो देखिएको छ ।

राप्रपाको प्रवास विभाग निकै सक्रिय रहेको र नेपालीहरुको बाहुल्य भएका २५ भन्दा बढी देशमा आफ्नो संजाल विस्तार गरिरहेकाले राप्रपाको मत पनि निर्णायक हुने देखिएको छ ।

अहिलेको अवस्थामा पनि राप्रपा समर्थित प्रवास समितिहरुबाट चार सयको हाराहारीमा प्रतिनिधि आउने देखिएको छ । जुन निर्वाचनमा निर्णायक हुने देखिएको छ ।

राप्रपा प्रवास विभागका प्रमुख विजय खड्काले एनआरएनए जस्तो संस्थामा राजनीतिक उम्मेदवार नहुनुपर्ने र स्वतन्त्र हुनुपर्नेमा नेकपा र काँग्रेसले नै आफ्ना उम्मेदवार बनाएपछि आफुहरु बाध्य भएर लाग्नु परेको आरोप बताउछन् ।  

खड्का एनआरएनएको निर्वाचनमा राप्रपाको यस पटक विशेष भूमिका हुनसक्ने बताउछन् । आफ्नो पक्षबाट अध्यक्षमा उम्मेद्वारी दिने भन्दा पनि परिस्थिति हेरेर समर्थन गर्ने रणनितिमा राप्रपा रहेको उनले बताए ।

राप्रपा राष्ट्रवादी पार्टी भएकाले प्रबासी नेपालीबीच खास प्रभाव रहेको बताउदै उनले आगामी सम्मेलनमा निर्णयक भूमिका रहने बताए । उनले अहिलेनै कस्तो भूमिका खेल्ने र क़स्तो रणनीतिमा अगाडी बढ्ने भन्ने बारे विश्वभरका साथीहरूसँग छलफल जारी रहेको खरीबोटलाई बताए ।

यसरी हेर्दा एनआरएनएको आगामी निर्वाचनमा नेकपा र काँग्रेसको भिडन्त हुदै गर्दा राप्रपाको भूमिका निर्णायक हुने देखिएको छ ।  

एनआरएनएको अहिलेसम्म डा उपेन्द्र महतो, जिबा लामीछाने, डा. शेष घले र वर्तमान अध्यक्ष भबन भट्ट अध्यक्ष बनिसकेका छन् । आगामी निर्वाचनमा उनीहरुको पनि विशेष भूमिका हुने र उनीहरुको समर्थन पाउन दुवै उम्मेदवारले प्रयास गर्ने बताइएको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै