• २०८१ बैशाख ७ शुक्रबार

डेङ्गुका कारण पर्यटक आएनन्

kharibot

फाइल तस्वीर

चितवन । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।

भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २ सयको हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०÷३० को हाराहारी रहेका छन् भने समूहमा आउने २ सय भन्दा कम  छन् । 

गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच÷पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका  कारण ती बसले खर्च धानेको जनाइएको छ । 

सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताए । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो ।

सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पु¥याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ । 

भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेङ्गुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ । 

भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना  कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै