काठमाडौं । दुई पटकको विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको १८ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो ।
सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भुटानले माल्दिभ्समाथि कम्तीमा चार गोलको अन्तरले हराएको भए सेमिफाइनलमा पुग्ने अवसर खोजिरहेको नेपालले खेल बराबरी भएपछि निराश हुनु परेको हो । नेपाल यसअघिका दुवै संस्करणको विजेता हो ।
समूह चरणको पहिलो खेलमा माल्दिभ्ससंग १-१ गोलको बराबरी खेलेको नेपालले भुटानसंग ३-० को हार बेहोरेको थियो ।
नेपाल बाहिरिएपछि समूह ए बाट ४ अंकसहित भुटान समूह विजेता बन्दै तथा २ अंकबाट माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
नेपालले १ अंकमात्रै बटुल्यो । सेमिफाइनल समीकरण भने बुधबारमात्र पूरा हुनेछ ।
समूह बीबाट ४ अंकसहित बंगलादेश सेमिफाइनलमा पुग्दा बुधबार भारत र श्रीलंकाबीचको खेलबाट दोस्रो टिमको टुङ्गो लाग्नेछ ।
श्रीलंका पहिलो खेलमा बंगलादेशसंग पराजित भएको थियो भने भारतले बंगलादेशसंग बराबरी खेलेको थियो ।