वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया शुरु भएको छ ।
अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया शुरु भएको घोषणा गरेकी छन् ।
राष्ट्रपति ट्रम्पमाथि डेमोक्रेट पार्टीका नेता जो बिडेन र उनका छोरालाई भ्रष्ट्राचारको आरोप लगाउन युक्रेनका राष्ट्रपति व्लोदिमिर जेलेसकीलाई दबाब बनाएको आरोप लगाइएको छ । तर ट्रम्पले भने सो आरोपको खण्डन गरेपनि उनले राजनीतिक प्रतिद्वन्दीको बारेमा युक्रेनका राष्ट्रपतिसँग चर्चा भएको भने स्वीकार गरेका छन् ।
सभामुख नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पले संविधानको घोर उलंघन गरेको र राष्ट्रपतिको जवाफदेहिता तय हुनुपर्ने भन्दै कानुन बह्न्दा माथि कोहि नभएको बताएकी छन् ।
अमेरिकी संसदमा ट्रम्पलाई हटाउन कम्तिमा २० रिपब्लिकन सांसदको आवश्यक पर्ने देखिन्छ । यसका लागि रिपब्लिकनका २० सांसदले आफ्नै राष्ट्रपतिविरुद्ध विद्रोह गरेमा मात्र यो सम्भव हुने देखिन्छ । अमेरिकामा अहिलेसम्म कुनै पनि राष्ट्रपतिलाई महाभियोग लगाएर हटाएको इतिहास छैन ।
पुर्व उपराष्ट्रपति समेत रहेका बिडेन २०२० को राष्ट्रपति निर्वाचनमा ट्रम्पविरुद्ध लड्ने सम्भावना रहेको छ ।
तल्लो सदनमा प्रस्ताव पास भएपनि उपल्लो सदनमा महाभियोग प्रस्ताव पास हुने सम्भावना भने निकै कम रहेको छ ।
अमेरिकी खुफिया अधिकारीहरुले सरकारको एक वाचडगसँग राष्ट्रपति ट्रम्पले गत जुलाईमा विदेशी नेतासँग टेलिफोनमा गोप्य कुराकानी गरेको खुफिया विभागमा उजुरी गरेका थिए । पछि ति विदेशी नेता युक्रेनका राष्ट्रपति भएको खुलासा भएको थियो ।
खुफिया विभागले तत्काल ध्यानदिन योग्य भन्दै सो उजुरी कपि ह्वाइट हाउसमा दिएका थिए । डेमोक्रेटका सांसदहौर्ले सो कपि माग गरेपनि ह्वाइट हाउसले दिन अस्विकार गरेको थियो ।
दुवै नेताहरुसँग के कुरा भयो भन्ने बाहिर नआएको भए पनि डेमोक्रेटिक पार्टीका सांसदहरुले भने ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग बिडेन र उनका छोरामाथि भ्रष्ट्राचारको अभियोग लगाउन दबाब दिएको बताउदै आएका छन् । यदि युक्रेनले यस्तो नगरेमा उसले पाइरहेको सैन्य सहयोग रोक्ने धम्कि ट्रम्पले दिएको बताइएको छ ।