• २०८१ बैशाख ४ मंगलबार

बाह्रखरी मिडियाले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्दै

kharibot

काठमाडौँ । बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भ्रमण बर्ष नेपाल २०२० को सहकार्यमा गर्न लागिएको हो । 

दुई चरणमा हुने प्रतियोगिताको पहिलो चरण २० अक्टुबर, २०१९ का दिन ४२५० मिटर उचाईमा रहेको कोङ्देरी मा खेलाइनेछ, जहाँ ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै दोस्रो चरणमा, सबै गल्फरले अक्टुबर २६ का दिन काठमाडौंको

गोकर्ण सफारी रिसोर्टमा बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएका छन् । 

प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार पारिँदै छ ।

यो प्रतियोगिता नेपालको सबैभन्दा उचाईमा गरिएको पहिलो खेल रहेको हाम्रो दाबी छ । हामीलाई विश्वास छ, यो प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुनेछ । 

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिङ्गापुर, श्रीलङ्का, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको छ ।

अन्तर्राष्ट्रिय पत्रकारहरुको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लगिने छ । पत्रकारहरुलाई कोङ्देमा हुने प्रतियोगिताबारे समाचार तयार पार्नका लागि अघिल्ला दुई दिन लुक्लामा बस्ने व्यवस्था मिलाइएको छ । पत्रकारलाई उनीहरुको रुचिअनुसार त्यस क्षेत्रको समाचार तयार पार्न प्रोत्साहित गरिनेछ, जसबाट अन्तर्राष्ट्रियजगत्मा नेपाल एउटा पर्यटन गन्तव्यका रुपमा प्रवद्र्धन हुन मद्दत पुगोस् । साथै, यस प्रतियोगिताले हिमाली क्षेत्रमा वातावरण विनासका प्रभावबारे पनि जागरुकता बढाउन मद्दत पुग्नेछ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरुले सहकार्य गरेको बताए ।

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए ।

“विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,” उनले भने ।

गोकर्ण गल्फ कोर्षका डाइरेक्टर दीपक आचार्यले ४२५० मिटरको उचाईमा प्रतियोगिता गर्न लागिएको जानकारी गराए । 

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । 

“यो हामीले नेपालकै लागि गरिएको कार्यक्रम हो,” उनले भने, “नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं ।”

पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराउँदै मुलुकको जीडीपी बढाउन पर्यटन नै महत्वपूर्ण विषय भएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै