• २०८१ बैशाख ८ शनिबार

माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग खोल्यो

kharibot

फाइल तस्वीर

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताए ।

एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमितरूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ । यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उनले बताए । 

ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ । नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उनले जानकारी दिए । ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक रु १० करोडभन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ ।

अत्यधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाले चालू आव २०७६÷७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ । यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुललगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै