• २०८१ बैशाख १२ बुधबार

चिनियाँ राष्ट्रपतिको भ्रमण छिट्टै हुन्छ : राजदूत होऊ यान्छी

kharibot

काठमाडौँ । नेपालका लागि चीनका राजदूत होउ यान्छीले चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको स्पष्ट पारेकी छन् ।

चीनको ७० औँ राष्टिय दिवसका अबसरमा चिनियाँ दुताबासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राजदूत होउले चिनियाँ राष्ट्रपति सी जीनपिङको भ्रमणको प्रतिक्षा भइरहेको बताएकी छन् । राजदूत यान्छीले राष्ट्रपतिको नाम नलिइकन उच्चभन्दा उच्चस्तरको भ्रमण छिट्टै हुने जानकारी गराएकी हुन् ।

दुई देशबीच उच्चस्तरीय नेतृत्वको दुईपक्षीय भ्रमणको पृष्ठभूमि केलाउँदै उनले राष्ट्रपति आगमनको प्रतिक्षामा रहेको उल्लेख गरेकी हुन् । 

गत अप्रिलमा राष्टपति विद्यादेवी भण्डारीले सेकेन्ड बीआरआई फोरममा सहभागी भएर चीनको राजकीय भ्रमण गरेको सन्दर्भ उल्लेख गर्दै चिनियाँ राजदूतले भनिन्, 'भ्रमणका बेला राष्टपति सी जीनपिङ र उनीबीच परम्परागत मित्रतालाई नयाँ उचाईमा पुर्‍याउने सहमति भएको छ ।' 

हालै स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमण तथा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका मन्त्री सोङ ताओको भ्रमणमा विभिन्न क्षेत्रमा दुईदेशबीच सहकार्यका लागि छलफल भएको छ । 

राजदूत यान्छीले चीनको विकाससँगै यस क्षेत्रको विकासमा चासो राख्दै अन्तर हिमालय बहुपक्षिय सहकार्य चिनियाँ प्राथमिकतामा रहेको दाबी गरिन् ।

चीनले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत सडक, रेल, बन्दरगाह, सुख्खा बन्दरगाह, हवाई सम्पर्क, सूचना सञ्जाल लगायतबाट विकासमा जोड दिने उल्लेख गरिन्। चीनले आफ्नो क्षमता अनुसार नेपालको वकासमा पूर्ण सहयोग गर्ने उनको भनाइ थियो । 

बीआरआईमा चीन सफल हुँदै अघि बढेको र त्यसलाई कसैले रोक्न नसक्ने बताउँदै उनले भनिन्, ‘अहिलेको युग विकासको युग हो। यसमा हामी प्रतिबद्ध भएर लागेका छौं । चीनले आफ्नो मात्र होइन, यो क्षेत्रको विकास गरेर अघि बढ्नेछ’ उनले भनिन्, ‘चीन विकासको नयाँ चरणमा पुगेको छ भने नेपालमा पनि राजनीतिक स्थायीत्व कायम भएको मुलुकमा पर्छ । नेपालमा राजनीतिक स्थायीत्व भएको देखेर चीन खुसी छ । ’

चीनले अक्टोबर १ लाई नयाँ चीन स्थापना भएको भन्दै विभिन्न समारोह गर्नेगर्छ। समारोहमा समारोहमा चिनिया संस्कृती, नृत्य पनि प्रस्तुत भएको थियो ।

नेपालले राष्ट्रपतिको भ्रमणको तयारी गरिरहेको छ । अहिलेसम्म दुवै पक्षले भ्रमणको मिति सार्वजनिक गरेका छैनन् । तर परराष्ट्र स्रोतहरुले सी जीनपिङको भ्रमण असोज २७ मा हुने सम्भावना रहेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै