• २०८१ बैशाख १३ बिहीबार

होलिभिजन स्कूलमा पुस्तक प्रदर्शनी र लेखक भेटघाट

kharibot

काठमाडौँ । होलिभिजन स्कूल, ताहाचल, काठमाडौँमा बालपुस्तकहरुको प्रदर्शनी र लेखक कार्तिकेयसँग पुस्तक हस्ताक्षर र छलफल कार्यक्रम गत शनिवार सम्पन्न भयो ।

बुकआर्ट नेपाल र बुकजोनले उक्त अवसरमा बालसाहित्यका ३ सय बढी नेपाली तथा अंग्रेजी बालपुस्तकहरु प्रदर्शनीमा उपलब्ध गराएका थिए । सो अवसरमा बालबालिकाहरुले बुकआर्ट बालसाहित्य शृङ्खल अन्तर्गत् प्रकाशित ४३ वटा बालकृतिका लेखक-सम्पादक कार्तिकेयसँग पुस्तक हस्ताक्षर र अन्तरक्रिया गरेका थिए ।

पुस्तक प्रदर्शनीमा सहभागी बालबालिकाहरुमध्ये साना बालबालिकाहरुले बालसाहित्य लेखकहरु कार्तिकेय लिखित बालचित्रकथाकृतिहरु आमा पपी छुट्यो, नयन हरायो र म चोर होइन, डा. शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा, के.बी. सिम्पल लिखित लच्छिनको दाँत, सूर्यप्रसाद लाकोजू लिखित साथी, क्षेत्रप्रताप अधिकारी लिखित नानी, बाबु र अरु कविताहरु, पासाङल्हामु शेर्पा र अरु कविताहरु, दुर्गालाल श्रेष्ठ लिखित फुल्न बाँकी छ, नमस्कार आमा, विनय कसजू लिखित टिउराको सपना, कवित पराजुली लिखित

निदरी, हजुरआमा लगायत कृतिहरु अत्यन्त मन पराएका थिए । 
त्यस्तै ८ वर्ष उमेर माथिका बालबालिकाहरुले विदेशी बालपुस्तकहरु डायरी अफ विम्पी किड, रोल डालका विभिन्न कृतिहरु, वन एण्ड वन्ली इभान, रञ्जुश्री पराजुली लिखित प्रिन्सेस काया र महेश पौड्याल अनुदित रमेश विकलका बालकथाहरुको अंग्रेजी संस्करण मिउ सेज दि लिटिल किट्टी, नेपाल भारतका लेखकहरुको २३ कथा रहेको कृति विड्स अफ ज्वाय, जलेश्वरी श्रेष्ठ लिखित १५ कथाको अंग्रेजी संस्करण पिङ्की एण्ड द बटर फ्लाइज र कार्तिकेय लिखित र वन्डरल्यान्ड अंग्रेजी बालउपन्यास मन पराएका थिए । साथै उक्त अवसरमा बालबालिकाको छनोटमा विविध विधाका जानकारीमूलक फ्याक्ट बुकहरु, लोककथाहरुको अंग्रेजी संस्करण, पजल र गेमहरु तथा जिके बुकहरु पनि परेका थिए । 

पुस्तक हस्ताक्षरमा सहभागी लेखक कार्तिकेयका अनुसार ८ वर्ष माथिका हरेक बालबालिकाले पुस्तक छनोट गर्दा ५ हजार शब्दभन्दा माथिका अंग्रेजी बालउपन्यासहरु तथा लामा कथा भएका कृतिहरु छनोट गरेका थिए । पुस्तक छनोट गर्दा बालबालिकाहरु सुरुमा आकर्षक कभरबाट आकर्षित भई पुस्तक छनोट गरेका थिए । अधिकांश बालबालिकाहरुलाई अभिभावकले मोटो धेरै कथा भएको किताब किनिदिन पाए त्यो किताबमा बच्चा धेरैबेर अलमलिन्छ भनी त्यस्तै किताब छनोटमा जोड दिएका देखिन्थे । 

कार्यक्रममा लेखक कार्तिकेयले अभिभावकलाई पुस्तक छनोट गर्न केही समय दिन प्रेरित गर्नुभएको थियो । सो अवसरमा उहाँले आफूले कृति पूरै पढेर बालबालिकालाई पुस्तक छनोट गर्न असहज भएको अवस्थामा प्रतिष्ठित पुरस्कार प्राप्त पुस्तकको गातामै मेडल प्रिन्ट गरिएका कृतिहरु किन्ने तथा विद्यालयको सिफारिस र शिक्षकहरुको सुझावलाई पनि मनन गरी आफ्ना बालबालिकालाई किताब किन्न सुझाव दिएका थिए । साथै उनले सस्तो मूल्यको छ भनेर पुराना नीतिकथा र लोककथाकै कृति किनेर किताब किनेको भूमिका मात्र निर्वाह गर्न खोजिरहेका अभिभावकहरुलाई पनि बरु ३ वटाको साटो एकपटकमा एउटा किताब किन्नुहोस् तर वर्तमान समयका बालबालिकाहरुको कथा लेखेका लेखकहरुको वर्तमान बालजीवनशैली समेटिएको कृतिहरु किन्न प्रोत्साहित गरेका थिए । 

उक्त अवसरमा सहभागी अभिभावकहरु बालबालिकालाई पाठ्यपुस्तक बाहेकका अतिरिक्त पुस्तकहरु पढ्न दिनुपर्छ भन्ने कुरामा सचेत रहेका थिए । उनीहरुलाई पुस्तक छनोटमा थोरै गाइड गरी प्रेरित गर्दा उनीहरुले आफ्ना बालबालिकाहरुको बिदालाई सिर्जनात्मक बनाउने गरी थुप्रै बालपुस्तकहरु किनेर आफ्ना नानीहरुलाई दिएका थिए ।

यसबाट पनि होलिभिजन स्कूल परिवारले पनि बालबालिकालाई अतिरिक्त ज्ञानका पुस्तक पढाउन आफ्ना अभिभावकलाई प्रेरित गरेको देखिन्छ । यो एउटा स्तरीय विद्यालयको कर्तव्य पनि हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै