• २०८१ बैशाख १२ बुधबार

द भ्वाइस अफ नेपालका नयाँ कोचहरुलाई ‘उपरीमाथी थुपरी’

kharibot

काठमाडौँ । द भ्वाइस अफ नेपालमा यतिखेर ब्याटल राउन्ड चलिरहेको छ । द भ्वाइस अफ नेपालको दोस्रो सिजनमा अभया र सनुपको ठाउँमा कोच बनेका आस्था र कोच राजुले लिएका छन् । कोच प्रमोद र कोच दीप भने दोस्रो सिजनमा पनि दोहोरिएका छन् ।

पहिलो सिजनमा प्रमोद र दीपको कोचिङ हेरिसकेका दर्शकको नजर यसपाली भने आस्था र राजुमा छ । राजुले त खासै आलोचना पाएका छैनन्, प्रसंसा पनि छैन तर आस्थाको भने बिरोध गर्ने र प्रसंसा गर्ने दर्शक आधा आधा भागमा बाँडिएका छन् ।

ब्लाइन्ड राउन्डमा आफ्नो साथीलाई वज गर्नेदेखि भाषाको प्रयोगका बिषयमा कोच आस्थाले विभिन्न आलोचना खेपेकी थिईन् । अहिले ब्याटलको पहिलो तर द भ्वाइसको १३ औं अंकसम्म आइपुग्दा भने उनलाई तनाव छ । उनी आफूलाई उपरीमाथी थुपरी आइपरेको बताउँछिन् ।

उनले आफ्नो कोचिङको पहिलो ब्याटलमा रिता र सम्झनालाई भिडाएकी थिईन्, त्यसैमा आफूमाथी उपरीमाथी थुपरी आइलागेको बताएकी हुन् । 

रिता दृष्टीविहिन छन् भने सम्झना साना बच्चाकी आमा हुन् । अमेरिकादेखी सबै काम छाडेर आएको भन्दै रुन्चे अनुहार लगाएकी सम्झना र जतिखेरै देख्न पनि सक्दिन भनेर पिल्लै रोइहाल्ने रिताबीच कस्लाई छान्ने उनलाई निकै सकस परेको थियो । 

गायनमा हेर्दा रिताको तुलनामा सम्झना निकै अगाडी थिइन्, तर आफूलाई रुघा लागेको बताएर केहि ठाउँमा चिप्ल्याईन् । रिताको भने निकै ठाउँमा ताल र आवाजको मेसो मिलेको थिएन । 

उनले राम्रो गाउनेलाई रोज्दा दर्शकको टोकेसो खानुपर्ने डर भएकाले रितालाई रोजिन् र सम्झना घर पठाईन् । आस्थाले बारम्बार सम्झनालाई मेरो ठाउँ कस्तो छ तपाई बुझ्नुहुन्छ नि है भनिरहेकी थिइन् ।

दर्शकका गाली र ताली दुबै भेटेकी आस्थाले दोस्रो ब्याटल अर्थात चौधौं अंकमा भने निकै राम्रो ब्याटल गराएकी थिईन् । चारैजना कोचहरुले गायकगायिका यांकी र अनिषलाई स्ट्यान्डिङ ओभियसन समेत दिएका थिए । अन्य कोचको स्ट्यान्डिङ ओभियसन सजिलै पाएपनि कोच दीपको भने मुस्किलै पथ्र्यो । 

कोच आस्था जस्तै अर्का कोच राजुको काँधमा पनि दोस्रो ब्याटल उपरीमाथी थुपरी नै भयो । उनले श्रवण कुमार र करणबीच गायनको भिडन्त गराएका थिए । श्रवण ब्लाइड अडिसनमै झ्याप थिए । कोच राजुले ब्याटलमा त ठिकठाकै ल्याएका होलान् भन्ने दर्शकलाई लागेको थियो तर त्यहाँ पनि पारा उस्तै । 

श्रवणको बोली मात्रै होइन, शरिर समेत ठेगानमा थिएन, झनै गायनको कुरै छाडौं । उनी गीतको बिचमा त निदाएका समेत थिए । साथै कोच आस्था कुर्चीबाट उठेर जोशका साथ कमेन्ट गर्दै थिईन्, श्रवण त सिधैं दर्शकदिर्घातिर दौडिए । पछि सबै मिलेर उनलाई थामथुम पारियो । सायद यहि कारण कोच राजुले निकै मिठो र दरिलो आवाज हुँदाहुँदै पनि करणलाई रोजे, श्रवणको भ्वाइस यात्रा सकियो ।

जे होस्, नयाँ कोचहरुले जसोतसो प्रतियोगीलाई सम्हालिरहेका छन् । आस्थाको त अझै देउडा मात्रै गाउने झुप्री, लोक आधुनिकसम्म बलैतलै गाउने साना बच्चाका आमाहरुलाई भिडाउनै छ । ब्लाइन्ड अडिसनमा ओमन इम्पाओरमेन्ट भन्दै सबै ओगटेकी उनको अझै कति उपरीमाथी थुपरी हुने हो हेरौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै