• २०८१ बैशाख १३ बिहीबार

बाँकेमा आपराधिक घटना रोक्न प्रहरी सक्रिय

kharibot

फाइल तस्वीर

बाँके । गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ । कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन् । आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ । परदेश गएकाहरु घर फर्किँदैछन् । कोही किनमेलमा ब्यस्त छन् । दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ । चाडपर्वको शुरुआतसँगै बाँकेमा सुरक्षा चुनौती पनि उत्तिकै थपिने गर्छ ।

बाँकेमा प्रहरीले चाडपर्व लक्ष्यित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ, तिहार र छठ पर्वमा कोही पीडित हुन नपरोस् भन्ने उद्देश्यले सबैतिर प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाएको दावी गरेको छ । अत्यधिक भीड हुने बैंक तथा वित्तीय संस्था, व्यावसायिक मल, मनोरञ्जन स्थल, बसपार्क जस्ता ठाउँमा आपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले चाडबाड सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, आतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ । प्रहरी उपरीक्षक वीरबहादुर ओलीले ६५ किलोमिटरमा फैलिएको नाकादेखि बजार, राजमार्गमा आपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए । भारतमा काम गरेर चाड मान्न घर फर्किने नेपालीलाई नाकामा सताउने र लुट्ने काम नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको हो ।

प्रहरी उपरीक्षक ओलीका अनुसार नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाइएको छ । चाडबाडमा विशेष गरेर बैंक तथा वित्तीय संस्था आसपास, भारतबाट मजदूरी गरेर फर्किने नेपाली लुटिने गर्दछन् । शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ । प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनभन्दा बढी चोरीका घटना हुँदै आएका छन् । प्रहरीले यसपटक त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ जाँचको व्यवस्था गरेको प्रहरी उपरीक्षक ओलीले बताए । चाडका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरी ध्यान लगाएर बसेको छ । प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुलाई बिदा नदिएको बताए । “सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,” प्रहरी उपरीक्षक ओलीले भने – “दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं ।”

सीमाबाट बिचौलिया लखेट्दै प्रहरी

खासगरी चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरु लुटिने र ठगिने सूचनाहरु बाहिरिने गर्दछन् । तर, नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदूरी गरेर फर्किँदै गरेका नेपालीहरु नेपालगञ्जका होटल व्यवसायीहरुबाट पीडित छन् । यतिबेला दैनिक करीब ५०० नेपाली भारतबाट नेपाल फर्किने गरेका छन् । भारतबाट आउने नेपालीहरु बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् ।

यही मौका छोपेर नेपालगञ्जका होटल व्यवसायीहरुले जमुनाहा नाकामा बिचौलिया खटाएका छन् । एकाबिहानै होटलबाट खटाइएका बिचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गरेर हैरान पारिरहेका छन् ।

भारतबाट फर्किएका एक नेपालीले भने – “कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन् ।” होटलले निश्चित कमिसन दिएर बिचौलिया खटाउने गरेका छन् । भारतबाट आउने नेपालीलाई दःुख दिन थालेपछि प्रहरीले सीमानाका जमुनाहामा कडाइ गर्न शुरु गरेको छ । बिहानै ग्राहक खोज्दै जमुनाहा पुग्ने १०÷१५ जना बिचौलियालाई दैनिकजसो प्रहरीले लखेट्नुपरेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने –“होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहेका छन् ।” भारतबाट फर्किँदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पु¥याउन विचौलियाहरुबीच बाझाबाझ नै हुने गरेको छ ।

प्रहरी उपरीक्षक ओलीले भने – “भारतबाट फर्किँने मात्र नभई अन्य कुनै पनि यात्रुलाई तानेर अभद्र व्यवहार गर्नेलाई कारबाही गर्छौ । प्रहरीलाई खबर गरेर सहयोग गर्नुहोला ।”

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताउँदै भने – “यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्छ । व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन ।”

सीमामा ‘हेल्प डेस्क’

चाडपर्वका बेला सीमानाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण गर्न र पीडितलाई तत्काल सहयोग गर्न जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

त्यस्ता आपराधिक घटनालाई ध्यानमा राख्दै नेपाल–भारत सीमानाका जमुनाहामा सावधानी अपनाइएको छ । घटना हुन नदिने र केही गरी भइहालेमा पीडितको सहयोग र उद्धारका लागि प्रहरी तयारी अवस्थामा रहेको बताइएको छ ।

घटना घटेको सूचना पाएको ५ मिनेटमै प्रहरी टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ । नाकामा ‘यात्रु सहायता कक्ष’ स्थापना भइसकेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख एवं प्रहरी नायब निरीक्षक माधव रिजालले भने – “सीमा क्षेत्रमा भीडभाडका बेला हुने ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो ।”

प्रहरीको अगुवाइमा थालिएको यस कदममा स्थानीय सहयोगी पनि एकजुट भएको उनले बताए । नेपाल–भारत सीमानाकाको मुख्य प्रवेशद्वारमै सहायता कक्षको स्थापना गरिएको छ । कक्षमा प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न यातायात व्यवसायी, स्थानीय नागरिक समाज लगायतका प्रतिनिधिहरु रहनेछन् ।

इलाका प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा पनि दैनिक २ हजार ५०० भन्दा बढी यात्रुको यसै नाकाबाट आवागमन हुने गर्छ । दशैं तिहारका बेला चार हजारभन्दा बढी यात्रुहरुको आवागमन हुने गरेको प्रहरी नायब निरीक्षक रिजालले बताए ।

नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले चर्को भाडा असुल्ने, यात्रु मिलाएबापत कमिशन खाने, यात्रु तानातान गर्ने र बसको टिकट मिलाइदिने भन्दै पैसा असुलेर अलपत्र पार्ने, एउटा सिटको बसको टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारका गाडी उपलब्ध नहुनेजस्ता समस्या यात्रुले भोग्ने गरेका छन् ।

कोही लुटिएर बेखर्ची भएमा गन्तव्यसम्म पुग्ने व्यवस्था, नशालु पदार्थको सेवन गराएर लुटिएका पीडित फेला परेमा उनीहरूको उपचार र घरसम्म पु¥याउने व्यवस्था, हराएका बालबालिका तथा अलपत्रमा परेका यात्रुलाई संरक्षण तथा उद्धार गर्न सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी उपरीक्षक ओलीको भनाइ छ । यात्रुको चापअनुसार सवारी साधन उपलब्ध नभएमा तत्काल थप गर्ने, ठग तथा दलालको खोजी र कारबाही गर्ने पनि प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै