नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

खरीबोट

सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो ।

अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १० रहेका उनको भनाइ छ । 

यस्तै निरौलाका अनुसार सोमबारसम्म सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २६४ ले अनुमति लिएका छन् । यो हिमाल संसारको आठौँ र नेपालको सातौँ अग्लो हिमाल हो ।

यसको उचाइ आठ हजार १५६ मिटर रहेको छ । त्यस्तै आठ हजार ५१६ मिटर उचाइको लोत्से हिमाल आरोहणका लागि दुई समूहका १३ र सात हजार ८६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि एक समूहका आठ जनाले अनुमति लिएका छन् । 

पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार आठ हजार २६७ मिटर उचाइको धवलागिरि हिमाल आरोहणका लागि दुई समूहका ३० जनाले अनुमति लिएका छन् । अहिलेसम्म देशका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा ६८ समूहका ५१८ आरोही छन् । सोमा ११४ महिला र ४०४ पुरुष आरोही रहेका पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा निरौलाले जानकारी दिए । 

सगरमाथा आरोहणको इतिहास 

सन् १९५३ मे २९ तारिखका दिन बिहान ११ः१५ बजे न्यूजिल्याण्डका नागरिक सरएडमण्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । त्यसपछि आरोहणको क्रम शुरु भएको पाइन्छ । 

सगरमाथा आरोहणको उत्तम समय वसन्त ऋतुलाई लिइने गरिन्छ । शरद ऋतुमा सगरमाथा अरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को अक्टोबरमा अमेरिकी आरोही एरिक लर्सेनले आरोहण गरेयता शरद ऋतुमा कोही पनि आरोही शिखरमा पुगेको रेकर्ड छैन । यो याममा अरोहण सफल हुने या नहुने भन्ने कुरा आरोही र मौसममा भर पर्छ ।

सन् २०१९ कै वसन्त ऋतुमा विभिन्न समूहका ३८१ ले आरोहण अनुमति लिएका थिए भने आरोही र उनका सहयोगीसहित करीब ७०० ले विश्वको सर्वोच्च शिखरमा पाइला टेकेका थिए । 

आरोहणका क्रममा नौको ज्यान गएको थियो । उनीहरुको मृत्युको कारण सगरमाथा आरोहणका क्रममा ट्राफिकजाम भनेर दाबी गरिए पनि पर्यटन विभागले त्यसको खण्डन गरेको थियो ।

उक्त याममा हुने भीड र समस्यालाई शदर ऋतुले आकर्षण गर्न नसकेको आरोही बताउँछन् । आरोही किताबसिं तामाङका अनुसार शरद ऋतुमा आरोहण गर्न सकिने भए पनि हल्का वर्षातसँगै हिमपात र वायुको गति उच्च हुँदा समस्या हुने गर्छ । वसन्त ऋतुमा आधार शिविरदेखि क्याम्प–१ सम्मको बाटो बनाउने र व्यवस्थापन गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले पनि यो याममा भने आफ्नो जिम्मेवारी मान्दैन र कुनै पनि कार्य गर्दैन । 

समितिका अध्यक्ष आङदोर्जी शेर्पाका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प–१ सम्मको बाटो बनाउन सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्छ । 

नेपाल सरकारले समेत शरद ऋतुमा आरोहणलाई प्राथमिकता दिएको पाइँदैन । यस याममा आरोहणका लागि आवश्यक पूर्वाधार तयार पार्न सरकारको ध्यान नगएको आरोही किताबसिंले बताए ।

चार करोड बढी राजश्व सङ्कलन

विभिन्न हिमाल आरोहणबाट अहिलेसम्म चार करोड २८ लाख ४० हजार १७१ रुपैयाँ ५७ पैसा रोयल्टी प्राप्त जम्मा भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहणको रोयल्टी ऋतुअनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा रु ३७ हजार ५०० र गर्मीयाममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने कानूनी व्यवस्था छ ।

सम्बन्धित समाचार

सगरमाथा आरोहण असफल, अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

काठमाडौँ । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १ सय ४३ समूहका १ हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार

नौ वर्षपछि पुनः शरद ऋतुमा सगरमाथा आरोहण हुँदै

सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला

राष्ट्रसङ्घका महासचिव गुटरेसलाई सगरमाथा संवादमा भागलिन निमन्त्रणा

न्यूयोर्क । सयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वशान्ति स्थापनामा नेपालले गरेको अतुलनीय योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै नेपालको सामाजिक, आर्थिक विकासमा साझेदारी गर्न राष्ट्रसङ्घ प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रसङ्घको ७४औँ महासभा

बाह्रखरी मिडियाले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्दै

काठमाडौँ । बाह्रखरी मिडिया हाउसले सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता नेपाल पर्यटन बोर्ड तथा भ्रमण बर्ष नेपाल २०२० को सहकार्यमा गर्न लागिएको हो ।  दुई चरणमा हुने


z