• २०८१ बैशाख ७ शुक्रबार

उच्चस्तरीय तालिबानी मण्डल पाकिस्तान भ्रमणमा

kharibot

फाइल तस्वीर

इस्लामाबाद । अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो ।

एक महिनाअघि संयुक्तराज्य अमेरिकासँगको वार्ता एकाएक भङ्ग भएपछि तालिबान समूहले अफगानिस्तानमा भिषण हमलाहरु गर्नुका साथै विभिन्न देशसँग वार्ताका लागि समर्थन जुटाउने कार्यलाई निरन्तरता दिएको छ ।

तालिबान प्रवक्ता सुहेल शाहीनका अनुसार तालिबानका सहसंस्थापक तथा कतारको दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल घानी बरादरले ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । प्रतिनिधिमण्डलले इस्लामावादमा पाकिस्तानी उच्च अधिकारीहरुसँग वार्ता गर्नेछ ।

पाकिस्तानी सञ्चार माध्यमहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अफगान विशेषदूत जाल्मे खलिलजाद पाकिस्तानी अधिकारीहरुसँग वार्ताका लागि इस्लामावादमा रहेको खबर सार्वजनिक गरेसँगै तालिबान समूह पनि पाकिस्तान भ्रमणमा आएको छ ।

पाकिस्तानको विदेश मन्त्रालय वा पाकिस्तानस्थित अमेरिकी राजदूतावासले तालिबानको भ्रमण र खलिलजादका विषयमा केही टिप्पणी गरेका छैनन् ।

पाकिस्तानले अमेरिकासँग कुनै किसिमको सहमति गर्नुअघि काबुलसँग वार्ता गर्न तालिबानलाई मनाउने प्रयत्न जारी राखेको छ ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको काबुलमा तालिबानले गराएको कार बम बिस्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएसँगै तालिबानसँगको शान्ति वार्ता समाप्त भएको भन्दै वार्ता नगर्ने घोषणा गररेका थिए ।

तालिबानीले वार्ताको टेबुलमा फाइदा उठाउन खोजेको आरोप लगाउँदै उहाँले यसको अमेरिकाले बदला लिने संकेत  समेत गरेका छन् । वार्ता रद्द भएको घोषणापछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानबाट तत्काल पाँच हजार सैनिक कटौती गर्ने प्रस्ताव पनि अन्यौलमा परेको थियो ।

हाल अफगानिस्तानमा १३ देखि १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । झण्डै १८ वर्ष अफगानिस्तानमा रहेको अमेरिकी सेनाले हाल अफगानी सेनालाई तालिम, परामर्श र हवाई सेवा प्रदान गरिआएको छ ।

अल–कायदाले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला गरेलगत्तै संयुक्तराज्य अमेरिकाले अफगानिस्तानमा आक्रमण गरी सेना पठाएको थियो । अफगानिस्तानमा तत्कालीन तालिबानी सरकारले अलकायदालाई आश्रय दिएको अमेरिकी आरोप छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै