• २०८१ बैशाख ८ शनिबार

दशैँमा सेवा रोक्दैन भरतपुर अस्पतालले

kharibot

फाइल तस्वीर

चाड पर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने गर्दछ । यहाँको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले दशैँको समयमा सर्वसाधारणलाई उपचार गर्न बहिरङ्ग सेवाबाहेक सबै सेवालाई निरन्तरता दिने भएको छ ।

विगतका वर्षमा झै यस वर्ष पनि दशैँको समयमा आकस्मिक सेवामा बिरामीको चाप बढ्न सक्ने भन्दै पूर्वतयारी गरिएको छ । अन्य समयको जस्तो नभए पनि चाडपर्वका समयमा निजी अस्पतालमा सेवा पाउन कठिन हुने भएकाले सबैको रोजाइ सरकारी अस्पताल हुने गर्दछ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार आकस्मिक परेकालाई बहिरङ्ग सेवा नखुले पनि आकस्मिक सेवामार्फत उपचार प्रदान गरिने छ । अन्तरङ्ग विभाग सञ्चालन हुने छन् । प्रसूति सेवा अन्य समयझै निरन्तर चल्ने छ । आकस्मिक शल्यक्रिया गरिने उनले वताए । चार दिन बहिरङ्ग सेवा र पालो लिएर गर्ने शल्यक्रिया नभए पनि बिरामीलाई उपचार लिन कठिन नहुने उनले बताए ।

सो समयमा बाल सघन उपचार कक्षमा कीटाणु मार्नका लागि ढोका बन्द गरेर गर्ने फुमीगेसन कार्य गरिँदै छ । दशैँका समयमा सर्वसाधारणलाई उपचारमा सहज बनाउनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको समय तालिका बनाइसकिएको छ । यो समयमा प्राकृतिक प्रकोप र दुर्घटना भएमा तत्काल उपस्थित हुनका लागि स्थानीय चिकित्सकहरुलाई आग्रह गरिएको छ ।

विभागीय प्रमुख निरन्तर सम्पर्कमा रहने तिवारीले बताउनुभयो । भरतपुर अस्पतालमा ६०० श्यया रहेका छन् । चितवनसहित देशका २४ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । निजी अस्पतालमा दशैँ आउनु केही दिनअघि देखिनै बिरामी भर्ना र शल्यक्रिया घटाउँदै लगिन्छ । ती बिरामीसमेत सरकारी अस्पतालमा जाने गर्दछन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अन्य समयको जति नभए पनि दशैँका समयमा समस्या पर्ने अधिकांश बिरामी सरकारी अस्पताल आउने गर्दछन् । केही दिन अघि कर्मचारीको आन्दोलनका कारण एक दिनमात्र सेवा प्रभावित हुँदासमेत धेरैले दुःख पाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै