• २०८१ बैशाख ८ शनिबार

विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी

kharibot

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा विद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् ।

परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा एक–एक वटा विद्यालय पुनर्निर्माण हुनेछन् जसमा १४४ वटा कक्षाकोठा रहनेछन् । अपांगमैत्री यी विद्यालयमा शौचालय, खानेपानीको सुविधा हुनेछ । विद्यालय पुनर्निर्माण भएपछि करिब ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् । परियोजनाको अवधि सन् २०२१ नोभेम्बर (२०७८ मंसिर १४) सम्म रहेको छ ।

समझदारीपत्रमा प्राधिकरणका तर्फबाट सहसचिव पिताम्बर घिमिरे, नर्वेजियन राजदूतावासका तर्फबाट नेपालका लागि राजदूत लास्से जोर्न जोहानेसें र युनओपिएसका कन्ट्री डाइरेक्टर चाल्र्स क्यालानानले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रमपछि नर्वे सरकार तथा युनओपिएसलाई धन्यवाद दिंदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजनाको समयमै सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले प्राधिकरण भूकम्पपछिको पुनर्निर्माणमा विकास साझेदारहरुसँग समन्वय तथा मिलेर काम गर्दै आएको र गर्न तयार रहेको पनि उल्लेख गरे ।

नर्वेका राजदूत जोहानेसेंले नर्वे सरकारको विद्यालय क्षेत्रप्रति दरिलो प्रतिबद्धता रहेको उल्लेख गर्नु हुँदै भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण तथा युनओपिएससँग साझेदारी गर्न पाउँदा गर्व लागेको बताए ।

त्यसैगरी, पुनर्निर्माण प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव पिताम्बर घिमिरेले परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा योगदान गर्नुका साथै दुई देशबीचको सम्बन्घमा पनि नयाँ आयाम थप्ने बताए ।

युएनओपिएसका कन्ट्री डाइरेक्टर चाल्स क्यालानानले पुनर्निर्माण प्राधिकरण र नर्वे सरकारसँग मिलेर विद्यालय पुनर्निर्माण गर्नु पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै तोकिएको समय र गुणस्तरमा विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै