काठमाण्डौ । ओमान जारी पेन्टागुलर टी-२० सिरिज अन्तर्गत आयरल्याण्डले नेपाललाई पराजित गरेको छ ।
आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा अलआउट हुदै १३२ रन मात्र बनाएपछि नेपाल १३ रनले पराजित भएको हो ।
नेपालका ब्याट्सम्यानहरु फेल भए पछि नेपाल पराजित भएको छ । ओपनरले ३५ रनको साझेदारी गरेपनि त्यसपछि लगातार विकेट गुमाउदा नेपालले औसत लक्ष्य पनि चेज गर्न असफल भएको हो ।
नेपालका अरिफ सेखले २६ रन बनाए भने कप्तान पारस खड्काले २५, इशान्त पाण्डेले २२, दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । त्यस्तै करण केसीले ९ बलमा १६ रन बनाएर आउट भए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आयरल्याण्डका बलर जर्ज डकरेल र मार्क अडैरले ३-३ विकेट लिए भने ग्यारेथ डीनालीले २ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको हो ।
राम्रो शुरुवात गरेको आयरल्याण्डविरुद्ध नेपालले उत्कृष्ट बलिङ गर्दै खेलमा कमब्याक गरेको थियो ।
आयरल्याण्डका लागि पाउल स्टिरलिंगले सर्वाधिक ५९ रन बनाएका थिए । स्टिरलिंगले ४७ बलमा ५९ रन बनाएका थिए । त्यस्तै एन्डी बलबिर्नेले २८ बलमा ३८ रन बनाएका थिए । त्यस्तै स्टुअर्ट थम्पसनले ११
बलमा २१ रन बनाएका थिए । आयरल्याण्डका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । सन्दीपले अघिल्लो खेलमा शतक बनाएका केभिन ओब्रायनलाई ५ रनमा आउट गरेका थिए । सन्दीपले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए ।
त्यस्तै अविनाश बोहोराले पनि २ विकेट लिएका थिए । अविनाशले ४ ओभरमा २२ रन दिएर २ विकेट लिएका थिए ।
त्यस्तै ललित राजबंशी र करण केसी एक एक विकेट लिएका थिए भने २ विकेट नेपालले रन आउटको रुपमा लिएको थियो ।
नेपालले यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेकोमा पहिलो हार बेहोरेको छ । त्यस्तै आयरल्याण्डले भने ४ खेलमा ३ खेलमा जित हासिल गरेको छ ।