• २०८१ बैशाख १३ बिहीबार

विश्वकप छनौट अन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै 

kharibot

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले आज जोर्डनको सामना गर्दैछ ।

चौथो खेलमा दोस्रो जितको लक्ष्यसहित नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनको सामना गर्न लागेको हो ।

जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

गत बिहिबार अष्ट्रेलियासँग पराजित भएको नेपाल सुधारिएको प्रदर्शनसँगै जितको लक्ष्यमा रहेको छ ।

जोर्डन पनि फिफा वरीयतामा आफूभन्दा ६३ स्थान तल रहेको नेपालविरुद्ध घरेलु मैदानमा नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ ।

छनोट अन्तर्गत समूहका २ खेलमध्ये १ मा खेलमा बराबरी र १ मा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल भने अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । त्यस्तै नेपाल भने ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डन भन्दा एक खेल बढी खेलेको छ ।

विहिवार अष्ट्रेलियासँग ५–० को गोलअन्तरले पराजित नेपालले समूह बी अन्तर्गत चाइनिज ताइपेइसँग मात्र जित निकालेको थियो ।

समूहको पहिलो खेलमा भने नेपाल कुवेतसँग ७–० को फराकिलो गोलअन्तरले पराजित भएको थियो । जोर्डनले चाइनिज ताइपेइलाई २–१ ले हराउँदा कुवेतसँग गोलरहित बराबरी खेलेको थियो ।

जोर्डनसँगको अन्तिम अवे खेलसँगै नेपालले बाँकी खेल घरेलु मैदानमा खेल्नुपर्नेछ ।

तर एकमात्र दशरथ रंगशाला स्तरोन्नतिका क्रममा रहेकाले नेपालले होमका खेल पनि विदेशमा गराउने तयारी गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै