• २०८१ बैशाख १३ बिहीबार

नेकपा-काँग्रेसको प्रतिष्ठा बन्दै एनआरएनए निर्वाचन, को को बन्दै छन् उम्मेदवार ?

kharibot

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिँदैछन् । निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली पनि आजै प्रकाशित गर्ने जनाएको छ ।

विद्युतीय प्रणालीबाट आज साँझ ५ बजेदेखि राति १० सम्म मतदान हुने बताइएको छ । मतदान सम्पन्न भएको एक घण्टाभित्रमा नै मतगणना सुरु हुने र तत्काल परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा रहेका छन् । निर्वाचनमा दुवै उम्मेदवार बलियो भएको र दलगत समर्थन रहेकाले कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

अध्यक्षका प्रत्यासी कुमार पन्तलाई नेकपा निकट र कुल आचार्यलाई कांग्रेस निकट रहेकाले यस निर्वाचनलाई काँग्रेस भर्सेस कम्युनिष्टका रुपमा हेरिएको छ । काँग्रेस र नेकपाले समेत एनआरएनएको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय समेत बनाएका छन् । महाधिवेशन स्थल ह्यात होटलमा दुवै दलका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । केहिदिन देखि नै आफ्ना दलका प्रतिनिधिहरुलाई पार्टी दिने र तटस्थ प्रतिनिधिहरुलाई आफ्नो पक्षमा तान्ने पहाल चलिरहेको देखिएको छ ।

साथै विभिन्न देशमा आफ्नो पार्टीको दलगत प्रवास समिति गठन गरेर सक्रिय भएको राप्रपाको समेत यस निर्वाचनमा निर्णायक भूमिका हुनसक्ने देखिएको छ । राप्रपा समर्थक करिब ३ सय प्रतिनिधि रहेको दाबि गरिएको छ ।  

पन्त समुहका उम्मेदवार :

जर्मनीलाई आधार बनाएका व्यवसायी कुमार पन्त अध्यक्षमा उम्मेदवार बन्ने यस अघि नै घोषणा गरिसकेका छन् । पन्तलाई नेकपा निकटका रुपमा चिनिन्छ ।

पन्त समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

पन्त समूहले महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मा उम्मद्वार बनाएको छ भने सचिवमा अमेरिका निवासी गौरी जोशी, शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एक जनालाई उम्मेदवार बनाउने प्रयास भैरहेको बताइएको छ । एनआरएनए विधानअनुसार २ जना सचिवमा निर्वाचित हुनेछन् ।

पन्त समूहबाट कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । त्यस्तै पन्त समूहबाट सह–कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् ।

आचार्य समूहका उम्मेदवार :

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् । संघका वर्तमान उपाध्यक्ष रहेका आचार्य आफ्नो प्यानल नै घोषणा गरका छन् । प्रजातान्त्रिक विचारधारका आचार्यको समूहलाई कांग्रेस निकटका रुपमा हेरिएको छ ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ । यस्तै आचार्य समूहबाट महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । गुरुङ एनआरएनएकी वर्तमान सचिव हुन् ।

यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले आचार्य समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

दलीय आधारमा निर्वाचन भए सहभागी हुदिन – उपेन्द्र महतो

गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक उपेन्द्र महतोले संस्थामा दलीय आधारमा नेतृत्व छान्न खोजिएमा आफू उक्त प्रक्रियाबाटै अलग हुने घोषणा गरेका छन् ।

उनले एनआरएनए विशुद्ध गैरराजनीतिक संगठन भएको भन्दै यसको चुनावलाई राजनीतिकरण गर्न खोजियो, राजनीतिक आधारमा प्यानल बनाइयो भने त्यो दुर्भाग्यपूर्ण हुने बताएका छन् । उनले एनआरएनएमा पार्टीको झन्डा बोकेर चुनाव लडियो भने तत्काल यो प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन् ।

निर्बिरोध अध्यक्ष बनेर तीन कार्यकाल एनआरएनए चलाएका महतोले आफू त्यस्तो दुर्घटना नहोस् भनेर सहमति खोज्न प्रयत्नरत रहेको पनि जानकारी दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै