• २०८१ बैशाख १३ बिहीबार

कोइरालाले गरिन् वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण

kharibot

दमौली । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ निरीक्षण गरेकीछिन् । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ र १२ भाटडाँडामा सञ्चालित नमूना कृषि गाउँ आज अवलोकन गर्दै त्यहाँका गतिविधिबारे उनले जानकारी लिएकि हुन् । निरीक्षणका क्रममा उनले स्थानीयवासी लाई फार्ममा सबै पूर्वाधार निर्माण भइसकेकाले अब व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरिन् ।

नमूना कृषि कार्यक्रमले आफूहरुलाई उत्साहित बनाएको कार्यक्रममा सहभागी कृषकले बताएका थिए । गण्डकी प्रदेशका ३६ गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी वि.सं २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले सो नमूना कृषि गाउँ औपचारिक शुरुआत गरेको थियो ।

प्रदेशसभा सदस्यको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँका रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशको ३६ निर्वाचन क्षेत्रमा अहिले ३६ वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् । नमूना कृषि गाउँमा उक्त दुई वडाका ९० घरधुरी आबद्ध छन् ।

सो कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले उक्त ठाउँमा २५ लाख तीन हजार ५ सय अनुदान दिएको छ भने समुदायले ४ लाख ३ हजार ५ सय लगानी गरेको शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालन, माछापालन, तरकारी उत्पादन, गोठ सुधारलगायत काम गरेका छन् । त्यसका लागि प्रदेश सरकारले कृषकलाई मौरीघार, टनेललगायतका सामग्री प्रदान गरेको थियो ।

प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्य बमोजिम जिल्लाको भानु नगरपालिका–११ को बाँसखर्क, भिमाद नगरपालिका–९ को पाथर्दी, शुक्लागण्डकी नगरपालिका–९ र १२ को भाटडाँडा र लिलाचोक र आँबुखैरेनी गाउँपालिका–४ को भाँगेमा सो कार्यक्रम सञ्चालन भइरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै