• २०८१ बैशाख १४ शुक्रबार

जोखिममा रहेका ३ सय ७६ बालबालिकाको उद्धार

kharibot

वीरेन्द्रनगर । एक वर्षको अवधिमा सुर्खेतमा जोखिमपूर्ण अवस्थामा रहेका ३ सय ७६ बालबालिकाको उद्धार गरिएको छ ।

जबरजस्ती विवाह, घरेलु हिंसा, यौन दुव्र्यबहार, बेचबिखन र ओसारपसार जस्ता विभिन्न कारणबाट जोखिममा रहेका बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकामध्ये बालिकाको सङ्ख्या बढी रहेको पाइएको छ । महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध काम गर्दै आएको गैरसरकारी संस्था आवाजका अनुसार उद्धार गरिएका मध्ये २ सय ४८ जना बालिका रहेका छन् भने १ सय २८ बालकको उद्धार गरिएको छ ।

आवाज संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा जोखिमपूर्ण अवस्थामा उद्धार गरिएका बालबालिकाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी ७२ जना बालबालिकाको उद्धार गरिएको छ । यस वर्ष शारीरिक तथा मानसिक यातनामा रहेका ५६ जना बालबालिकाको उद्धार गरिएको र जसमध्ये बालिकाको सङ्ख्या ३७ जना रहेको छ ।

त्यसैगरी हराएका र बेवारीसे अवस्थामा रहेका ४९, कठिन परिस्थितिमा रहेका ४५, यौन शोषण र दुव्र्यबहारमा परेका ४३ जनाको उद्धार गरिएको छ । 

संस्थाको तथ्याङ्क अनुसार ३६ जना सडक बालबालिका, जोखिमपूर्ण तथा प्राकृतिक प्रकोपमा परेका १६ जना, संस्थाको तथ्याङ्क अनुसार बेचबिखन र ओसारपसारमा परेका २४, जबरजस्ती करणीमा परेका १८ जना बालबालिकाको उद्धार गरिएको छ । 

यसरी जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकामध्ये ३ सय ४१ जना बालबालिकाको परिवारसँग पुनःमिलन गराइएको छ भने ३५ जना बालबालिकालाई आपतकालिन गृहमा राख्नुका साथै संस्थागत पुनःस्थापना गराइएको संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले बताइन् । 

शाहीका अनुसार कुपोषण, कक्षा छाड्ने, यौन शोषण, दुव्र्यवहार, बलात्कार, अपमानित, कुटपिटजस्ता कारणले गर्दा बालबालिका जोखिममा पर्ने गरेका छन् । उनले बाल हेल्पलाइन तथा सरोकारवाला निकायसँगको समन्वयले समस्यामा परेका बालबालिकाको उद्धार,  संरक्षण, कानूनी सहयोग र पुनःस्थापनामा सहजता भएको बताईन् ।

त्यसैगरी विभिन्न कारणले परिवार छाडेर बेवारीसे अवस्थामा रहेका बालबालिकाको पुनःस्थापनामा समस्या आएको छ । पछिल्लो समय विभिन्न कारणले गर्दा सडक बालबालिकाको सङ्ख्या बढ्दो पाइएको छ ।

बढ्दो बैदेशिक रोजगारको कारण र बाबुआमा बिहीन भई परिवारबाट अलग्गिएका बालबालिका सडकमा देखिएका छन् । यस वर्ष मात्र ४१ जना सडक बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको शाहीले बताइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै