• २०८१ बैशाख ७ शुक्रबार

नेपाल एयरलाइन्सको ओसाका उडान उत्साहजनक

kharibot

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ओसाका (जापान) उडानमा आशातित व्यापार गरेको छ ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दले निगमको ओसाका उडान नियमित भइरहेको र आशातित व्यापार गर्न सफल भएको जानकारी दिए । “निगमको ओसाका उडान नियमित भइरहेको छ । अक्टोबरबाट दुईतर्फी यात्रुको सङ्ख्या बढेको छ । यात्रुको सङ्ख्या प्रति उडान १५० देखि २०० सम्म हुने गरेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, उनले भने ।

निगमले वाइड बढी ए–३३० जहाजमार्फत जापानको ओसाका कन्साइ इन्टरनेशनल एयरपोर्टमा साताको दुई दिन मङ्गलबार र शनिबार उडान भर्दै आएको छ । निगमले सो गन्तव्यमा गत भदौ १२ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो ।

शुरुका दिनमा यात्रुको कमी रहे पनि पछिल्लो समय यात्रुको अकुपेन्सी क्रमशः बढिरहेको र व्यापार पनि सन्तोषजनक रहेको निगमले जनाएको छ । नेपालमा पर्यटकीय याम शुरु भएकाले पनि जापानबाट आउने पर्यटकले गर्दा निगमलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । 

नेपालमा अहिले चलिरहेको गैरआवासीय सङ्घको नेपाली विश्व सम्मेलन, दशैँ, तिहार तथा छठ पर्व आदिका कारण पनि निगमको ओसाका उडानमा अकुपेन्सी बढेको देखिन्छ ।

निगमले छिट्टै जापानको राजधानी टोकियोको नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडान भर्ने तयारी गरेको छ । टोकियोमा नेपालीको बसोबास बाक्लो भएकाले त्यहाँबाट निगमको व्यापार पनि राम्रो हुने अपेक्षाका साथ निगमले आवश्यक तयारी गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै