काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्षमा निर्वाचित भएका छन् ।
पन्तले अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यलाई पराजित गरेका हुन् ।
पन्त संघका छैटो अध्यक्ष बनेका छन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।
बुधबार भोटिंग मेशिनमा समस्या आएपछि बिहिबार मतपत्रबाट मतदान भएको थियो भने बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो ।
नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो ।
विस्तृत मतपरिणाम केहीबेरमा सार्वजनिक गरिदै छ ।
को हुन् कुमार पन्त ?
सन् १९७६ मा गोरखाको फुजेलमा जन्मिएका पन्तले जर्मनीलगायत युरोपका विभिन्न मुलुकमा सेवा क्षेत्रमा लगानी गरेका छन् । उनले नेपालमा जलविद्युत् परियोजना, ‘बैंकिङ’, ‘रेमिट्यान्स’, ‘रियल स्टेट’, सिमेन्ट उद्योगलगायतमा लगानी गरेका छन् ।
उनी अहिले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी)को निवर्तमान उपाध्यक्ष हुन् । दुई कार्यकाल उपाध्यक्ष बनेका पन्त सन् २००४ मा एनआरएन अभियानमा संलग्न भएका थिए भने अर्को वर्ष जर्मनीको हिस्सेन क्षेत्रको संयोजक भएका थिए ।
सन् २००९–२०११ मा आइसिसी सदस्य भएसँगै उहाँले युरोप क्षेत्रको संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए । त्यसपछि उनी सन् २०१३–२०१५ मा सङ्घको महासचिव भए । विद्यार्थीका रुपमा सन् १९९९ मा जर्मनी गएका उनी जर्मनीको फ्र्याङ्कफर्टमा बसोबास गर्छन् ।