• २०८१ बैशाख ७ शुक्रबार

दुई दशकदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालन हुने

kharibot

फाइल तस्विर । 

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्राविधिक टोलीले स्थलगत काम थालेको छ ।

विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको उक्त विमानस्थल पुनः सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली भीमदत्तनगर आएको हो ।

टोलीले बिहीबारदेखि काम थालेको प्राविधिक टोलीका प्रमुख इञ्जिनीयर गुणदत्त अधिकारीले जानकारी दिए । अध्ययनपछि मन्त्रालयमा प्रतिवेदन पेश गरिने उनको भनाइ छ । टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ/चौडाइ लगायत प्राविधिक र अन्य विषयको अध्ययन गर्नेछ ।

बहत्तर सिट क्षमता भएको जहाज सञ्चालनका लागि एक हजार ८८० मिटर लामो रन–वे आवश्यक पर्ने अधिकारीले बताए । ठूला जहाज सञ्चालनका लागि ७० बिघा जमीन आवश्यक परे पनि मझगाउँ विमानस्थलसँग ६५ बिघा जमीन छ ।

विमानस्थलको शुक्लाफाँटा दक्षिणतर्फ रहेको राष्ट्रिय निकुञ्जको जमीन अधिग्रहण गर्न सकेमात्र विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताइएको छ । रियलपात इञ्जिनीयरिङ कन्सलटेन्सीका इञ्जिनीयर गुरुदत्त अधिकारी, स्मरण भट्ट, सन्देश पौडेल, अविशेक बर्मा र सवइञ्जिनीयर सविन पौडेलको टोली यहाँ खटिएको छ । 

केही महीनायता विमानस्थल सञ्चालनका लागि दबाब दिँदै आएको मझगाउँ विमनास्थल पुनः सञ्चालन सङ्घर्ष समितिका संयोजक रमेश चन्दले विमानस्थल सञ्चालनका लागि सबैको हातेमालो आवश्यक रहेको बताए । “हामीले यहाँका जनप्रतिनिधि र स्थानीय तह, नागरिक समाजसहितको प्रतिबद्धता लिएर केन्द्रमा प्रधानमन्त्रीसम्मलाई गुहार्यौं”, उनले भने ।

विमानस्थल संरक्षण एवं सञ्चालनका निम्ति सहयोग पुगोस् भनेर भीमदत्त नगरपालिकाले २० लाख बजेट चालू आर्थिक वर्षमा विनियोजन गरेको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनले विमानस्थल पुनः सञ्चालनका लागि प्रदेश र सङ्घीय सरकारमा समेत लगातार पहल गरिरहेको बताए ।
झण्डै ६५ बिघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ १ हजार ६ सय ६५ मिटर र चौडाइ ५ सय मिटर छ ।

सुदूरपश्चिम प्रदेशका उद्योग, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले विमानस्थलको लम्बाइ बढाउन सम्बधित निकाय र विभागसँग पहल गर्न सकिने बताए । विमानस्थलको दक्षिणमा जग्गा अधिग्रहण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग समन्वय गर्न सकिने उनले बताए । “विमानस्थलको जग्गा बढाउन पहल गछौं”, उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै