• २०८१ बैशाख ७ शुक्रबार

मिसन मंगलले जगाएको मेरो मिसन !

kharibot

सुरक्षा बर्तौला

बैनी र म, हामी दुई दिदि बहिनी बस्छौ, यो अलिकति बिराना मान्छेहरुको शहरमा ! दुई/चार थान साथीहरू अनि आफन्त भन्दा नजिककी  बहिनीले साँझ काम सकेर कोठामा हामी दुबै आइसकेपछी सोधी "मिसन मंगोल हेरिस ?" 

"मिसन मंगोल हैन, मिसन मंगल हो । हेर्या छैन" मैले भने ।

"हेर सहि छ ।" उसले भनि

अनि थाले एक कप कफी संगै साग पकाउन, भात चै बिहानकै बाकी थियो । पकाइसकेर एकै छिनमा खाइवरी आ– आफ्नो ओछ्यानमा पुगे । म लागे मिसन मंगल तिरै । राम्रो छ भनेर कसैले सजेस्ट गरेको फिल्म र उपन्यास छुटाउनै मन लाग्दैन । कहिलेकाँहि नाटक पनि हेर्छु ।

विद्या बालनले बिहानको पुजाको धुप बालेर मिसन मंगलको शुभमुहुर्तमा श्री गणेस गरिन् ।

फिल्म एक्दमै राम्रो लाग्यो मलाई !

सिनेमाले असफलताले जिन्दगीमा राम्रो पाठसिकाउछ भन्ने कुरा सिकाएको छ । बिचार सबैको सुन्नु बाटो आफ्नो हिड्नु भन्ने कुरा पनि सिकाएको छ ।

आफुले गर्ने हरेक काम लाई आफ्नो सपनाको रुपमा लिनुपर्छ अनि त्यसलाई नै आफ्नो मिसन, आफ्नो उदेश्य बनाउन पर्छ, नकि त्यो एउटा फगत समय अवधिको डिउटी ! अनि मात्र त्यो मिसन, त्यो उदेश्य सफल बनाउन सकिन्छ भन्ने कुरालाई विशेष जोड दिइएको छ ।

हरेक मानिसको एउटा उदेश्य हुन्छ, अझै भनौ सबैले आफ्नो बाल्यकाल देखिनै एउटा सपना देखेको हुन्छ, एउटा उदेश्य बनएको हुन्छ । म डक्टर बन्छु, ईन्जिनियर, पाइलट, वकिल, पत्रकार बन्छु भन्ने । तर मेरो सपना के थियो ?

"भनिन्छ उदेश्य के लिनु उडि छुनु चन्द्र एक ।" 

तर मेरो उदेश्य एक थिएन ! मेरो सपना एउटा मात्रै थिएन, म डक्टर/नर्स बन्न चाहन्थे, वकिल बन्न चाहान्थे, पत्रकार बन्न चाहन्थे । म यी सबै बन्न चाहान्थे । चाहान्थे या चाहादैन थिए म अझै कन्फर्म छैन । अनि अझै पनि मलाइ थाह छैन कि, म के बन्न चाहान्छु ?

पढार्इमा त्यति अब्वल हैन तर त्यति ल्वाँठ पनि हैन । वि.स. २०६६ को एसएलसी फस्ट डिभिजनमा पास हुने ९ जान बिध्यार्थी मध्धेको एक थिए म, मेरो स्कुलबाट । र सबै भन्दा कम उमेरकी पनि । एसएलसी. सकिए पछि नर्स बन्ने सपनाको पहिलो खुट्किलो टेक्नमा ममीले निक्कै मिहिनेत गर्नुभयो । सायद उहाँको रहर पनि थियो छोरीलाई नर्स बनाउने । गाउँबाट नर्स बन्ने सपना सङ्गै एउटा झोलामा केहि थान कपडा अनि ममीको माया र आशा पोको पारेर हिडेकी आफ्नी १४ बर्षकी छोरीलाई शहर जाने बससम्म पुर्याउन ममी आउनु भएको थियो ।

पहिलो पटक घर बाट छुट्टै बस्न जाँदैथिए म, बलापन सकिएकै थिएन । ममी आफैले नुहाईदिनु हुन्थ्यो । भर्खरै यौवन उमेरमा प्रवेस गरेकी छोरी आफुबाट टाढा पठाउनु पर्दाको पिँडा, मातृत्वप्रेम, मप्रतिको आशा, भरोसा सबै मिसिएको भाव थियो ममीको अनुहारमा ।

मैले नदेख्नेगरि आँखामा टिल्पिलिएको आशु पछाडी फर्केर पुस्दै घर फर्किनुभएको थियो ममी । अनि म चाहिँ गाउँको लोकल वसमा करिब २ घन्टा यात्रा गरेर, मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडा शहर पुगेकी थिए । बाबाको माहिलो दाइ म ड्याडी भन्थे उहाँलाई, शाहरमा उहाँहरुसंगै बस्ने भएकी थिए ।

३ महिने तयारी कक्षा सकियो त्यो समय भरीको मेरो उदेश्य स्टाफनर्स बन्ने थियो । इन्ट्रान्स इक्जाम दिए बिरगंज (स्कलरसिप) अनि हेटौंडा (फुलपेमेन्ट) मा ।

नाम निस्कियो तर फुलपेमेन्टमा ! हामी सँग त नर्स बन्नलाई चाहिने जति पैसा नै रहेनछ, हामी गरिब रहेछौँ । यो भन्दा अघि चै मलाई हामी धनी हौँ भन्ने भ्रम थियो । हाम्रो पारिवारको आर्थिकस्तर अनि मेरो मिहिनेत दुबै अलिकती कमजोर पर्यो त्यति बेला । मध्यम वर्गीय परिवारको आर्थिकस्तरले नपुग्ने रहेछ फुल्पेमेंटमा नर्स बन्न ।

तिन महिनासम्म गर्भाधान भएको म नर्स बन्ने सपना त्यहि तुहियो, आशाको त्यान्द्रो रगतको चौटा/चौटा बनेर तल्लो पेट बेस्सरी दुख्नेगरि, हन हनी जोरो फुटाएर आँसुसँगै पखालिएर गयो नर्स बन्ने सपना नामो निसान मेटेर ।

ममी फेरि रुनु भयो एकपटक ! अनि म पनि । 

३ महिनासम्मको मिहिनेत एउटा सपनाको दरिलो आशा जागिसकेछ मभित्र, सायद त्यसैले पनि मन अमिलिएको थियो, आफ्नै मन भारि भएको थियो ।

सपनामा नसमेटिएको मिसन !

बाबालाई मास्टर जागिर खाएको राम्रो लाग्छ भन्नुहुन्थ्यो, ड्याडी पनि मेजर ईङ्गिलस पढेको राम्रो भन्नुहुन्थ्यो, किनकी दिदी (ड्याडिको जेठी छोरि) ले पनि मेजर इङ्लिस नै पढ्नु भएको थियो अनि हेटौडा को नाम चलेको बोर्डिङ्ग स्कुलमा पढाउनु हुन्थ्यो, जुन सरकारी जागिर खाए सरह थियो ।

भर्ना भएँ, मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षा संकाए अन्तर्गत ऐच्छिक विषय अङ्ग्रेजी राखेर । कक्षा १२ को रिजल्ट आउन लाग्ने समयमा कम्प्युटर डिप्लोमा कोर्ष गरें । पास पनि भएँ सेकेण्ड डिभिजनमा । एसएलसी र १२ कक्षाको रिजल्टमा १० प्रतिशत अंक घटेको थियो ।

अब स्नातक तह भर्ना हुने बेला आयो । अनि थाहा भयो मलार्इ पत्रकार बन्न त पत्रकारिता पो पढ्नुपर्ने रहेछ ! जुन मानबिकी संकाए अन्तर्गत पर्ने रहेछ । साथीभाइसँगको सल्लाह अनुसार मानबिकी संकाए अन्तर्गत ऐच्छिक विषय अंग्रेजी र पत्रकारिता राखेर भर्ना भए । त्यसपछि भने अब पत्रकार बनिन्छ भन्ने मिसन/उदेश्य आयो मनमा । 

३ बर्षे स्नातकतह सकियो हरेक बर्ष २/२ वटा विषयको मौका परीक्षा दिएर, ४ बर्षमा सके । यहि बिचमा गाउँकै बोर्डिङ्ग स्कुलमा पढाउन थाले करिब एक/डेढबर्ष पढाए त्यहाँ, कन्सलटेन्सिमा रिसेप्सनिष्टको काम गरे २/३ महिना, सामुदायिक रेडियोमा इन्टर्नसिप गरे लगभग १ महिना । 

मिडियामा काम गरेर पैसा कामाइन्न ! मिडिया हाउसले समयमा तलब दिदैनन, यस्तो सुनिन्थ्यो !

इज्जत पनि हुने पैसा पनि कमाइने कामगर्न मन थियो अब मलाई । काठमाडौं बाट दादा (मामाकोछोरा) ले फोन गर्नुभयो "नानी तिमी भोलिनै काठमाडौँ आउ है एउटा ट्राभल एजेन्सीमा जबको लागि कुरा गरेको छु ।"

"हुन्छ दादा ।" मैले प्रतिप्रश्न गरिन, सिधै सहमती जनाएँ ।

मलाई ट्राभल एजेन्सी भनेको केहो ? के काम गर्नुपर्छ ? सम्म पनि थाहा थिएन । जागीर खाने, पैसा कमाउने, भाइबहिनीलाई सहि बाटो देखाउने अनि परिवारको आर्थिक बोझलाई  धेरथोर टेको लगाउने सपनासंगै फेरी एउटा झोला बोकेर अर्को शहर, पहिलेको भन्दा ठुलो, देशभरीमै सबैभन्दा धेरै जनघनत्व भएको शहर, काठमाडौँको बाटो तय भयो ।

यता मामाघर, मामाको घर त थिएन काठमाडौँमा तर बस्ने खाने बन्दोबस्त भने राम्रै थियो । ट्राभल एजेन्सीको ट्रेनिङ्ग, काम सुरु भयो । रमाइलो लाग्यो मलाई, यसैलाई निरंतरता दिने उदेश्य सेट भैसकेको थियो मेरो दिमागमा, फेरि मास्टर्सको भर्ना खुल्यो । अनि नेपाल ल क्याम्पसमा एलएलबिको पनि भर्ना खुल्यो । वकिल अनि पत्रकार बन्ने सपनाको ढोका एकैचोटि खुलेको थियो मेरो अगाडी । वकिल बन्ने ढोकासम्म पुग्ने बाटो नै बिराए ।

बाकीरह्यो पत्रकार बन्ने बाल्यकालको सपना !

फेरी दोहोर्याउन चाँहे "उदेश्य के लिनु उडी छुनु चन्द्र एक"

इन्डिया चन्द्रमामा पुगीकन मंगल ग्रहमा पुग्ने मिसनमा समेत सफल भैसक्दा म भने अझै कुहिरोको कागझैँ अलमल्ल नै थिए, के पढ्ने भन्ने कुरामा । बिनिता कार्की दिदीलाई भेटेपछि पत्रकारितामानै मास्टर्स गर्ने निधो गरे । उँहाबाट अपेक्षित सल्लाह पाइने आसा पनि थियो । अब सकियो पत्रकारितामा मास्टर्स । थेसिस भने बाकी छ अझै ।

पढाईमा त मास्टर्स सके तर पत्रकारिताको व्यवहारिक ज्ञान भने अझै परिपक्क छैन । केहिदिन भयो व्यवहारिक रुपमा पत्रकारिता शुरु गरेको ।  

मैले सायद आजसम्म कुनै कामलाई मिसन बनाएर गरिन, कुनै कामलाई पनि आफ्नो सपना ठानेर गरिन, त्यसैले कुनैपनि काममा सफल हुन सकिन । अझ भनौ सफल बनाउने कुनै प्रयास नै गरिन । आज अहिले मिसन मंगल हेरेर सक्किदा एउटा बिस्वास जागेको छ मनमा, "पत्रकारिता अब मेरो मिसन बन्नेछ । मेरो हरेक मिहिनेत मेरो काममा लगाउनेछु । म पत्रकार बन्नेछु ।"

मेरो बाल्यकालको सपना जतिबेला मलाई के बन्ने, नबन्ने कुरको ज्ञान नै थिएन, के बन्न के पद्ने भन्ने पनि थाहा थिएन, त्यति बेला मेरो मस्तिष्कले सोचेको सबै सपनाको ढोका अगाडी पुगेर म फर्किए । समयले सपनाको ढोका अगाडी बाटै बाटो मोडिदियो ।

कहिले आर्थिक समस्या त कहिले शरीरले पनि साथ दिएन । सबैभन्दा धेरै चाहिँ मनले नै साथ दिएन । मनलाई एकाग्र गरेर एउटै उद्देश्यमा अडिग रहन सकिन ।

अझैपनि म बाल्यकालको एउटा सपनाको धेरै नजिक छु यसलाइ सफल बनाउने या नबनाउने मेरै हातमा छ । मिसन मंगल फस्ट, फ्याट बोय जसरी समुन्द्रमा रकेट डुबाउने या मम(mom) मिसन मंगल जसरी ११ महिनामा मंगल ग्रहमा पुग्ने सक्सेस मिसनको सपना जिवन्त बनाउने, नितान्त मै माथि निर्भर छ ।

मिसन मंगल फिल्मले म भित्र एउटा मिसन पनि जगाइदिएको छ । जे गर्न थलेको छु, जे गर्दैछु यो मिसनमा म सफल हुने छु... 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै