• २०८१ बैशाख ८ शनिबार

पूर्वीय दर्शनबाट एशियाको विकासमा योगदान गर्न परराष्ट्रमन्त्रीको आग्रह

kharibot

म्यान्मार । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एशियाका मुलुकहरुले पूर्वीय दर्शनका मूल्यमान्यतामा आधारित रहेर मिलेर काम गरी पूरै एशियाको विकास र समृद्धिका लागि योगदान गर्नुपर्ने बताएका छन् ।

म्यान्मार नेपाल मैत्री सङ्घ र म्यान्मा नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित ‘म्यान्मा नेपाल मैत्री र व्यवसायका  अवसर’ विषयको विचार गोष्ठीमा उनले म्यान्मा र नेपालले तिनीहरुले संयुक्त राष्ट्र सङ्घ, असङ्लग्न आन्दोलन, जी ७७ जस्ता सङ्गठन र समूहमा रहेर समसामयिक विश्वको चुनौतीको सामना गरी न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तरराष्ट्रिय विश्व प्रणालीको सुनिश्चिता गर्नुपर्नेमा जोड दिए । 

उनले एकै वर्षमा व्यापार, लगानी, पर्यटन र संस्कृतिका क्षेत्रमा भएको समझदारीले दुवै देशको आर्थिक एवं  सांस्कृतिक सम्बन्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

उनले म्यान्मारले लुम्बिनीमा बनाएको चैत्य बौद्ध तीर्थयात्राका लागि महत्वपूर्ण आकर्षण  बनेको बताउँदै लुम्बिनीका लागि राष्ट्र सङ्घका महासचिव ऊ थान्त (म्यान्मा) ले अन्तरराष्ट्रिय सहयोग जुटाउन गरेको कामको सराहना गरे ।

नेपाल र म्यान्मार दुवै विकासोन्मुख मुलुक भएको र दुवैमा गरी करीब आठ करोड जनसङ्ख्या रहेको बताउँदै उनले दुवै राष्ट्र ठूलो बजार हुन सक्ने औँल्याए । नेपालका आर्थिक तथा व्यावसायिक नीतिहरु उदार रहेको र प्रवेशाज्ञा प्रणाली पनि सरल भएकाले म्यान्माका उद्योगी व्यवसायीलाई म्यान्मारमा लगानी गर्न आग्रह गरे ।

नेपालले प्रायः सबै क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि ढोका खुला राखेको बताउँदै उहाँले विकासोन्मुख मुलुक भएकाले केही अन्तरराष्ट्रिय बजारमा केही विशेष सुविधा पाइएको पनि जानकारी दिए ।

गैर आवासीय नेपालीको कर समस्या समाधान गर्न संयन्त्र निर्माण गर्ने,  प्रवेशाज्ञा प्रणालीलाई सरल बनाउने र गौतम बुद्ध विमानस्थल छिटो निर्माण गरी म्यान्मा नेपाल हवाइ उडान मिलाउन सकिने बताए ।

सो अवसरमा उ थान्तका नाति डा थान मिन्तले दुवै देशका सम्पदा र संस्कृति संरक्षण गर्न मिलेर काम गर्न सकिने बताउँदै नेपाल म्यान्मा सीधा हवाई उडान गर्नुपर्नेमा पनि जोड दिए । उनले विद्यालयहरुमा इतिहास विषय अध्ययनअध्यापन हुनुपर्ने र अन्य धेरै क्षेत्रमा आदानप्रदान गर्नुपर्ने पनि बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै