• २०८१ बैशाख १४ शुक्रबार

चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान

kharibot

फाइल तस्विर । 

बैतडी । विपद् क्षति र जोखिम न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ ।

चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद बताए ।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय संरक्षण समूहको प्राविधिक सहयोगमा उक्त प्रणाली जडान गरिएको हो । नमूनाको रुपमा

नगरपालिका भवनको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको जनाइएको छ ।

चट्याङबाट बच्नका लागि नगरपालिकाको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको भूगर्भशास्त्री डा रञ्जनकुमार दाहालले बताए । यो प्रणाली सस्तो र गर्न सकिने भएकाले सहज हुनेछ, उनले भने, “यो प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम हुँदैन ।”

यस्तै नगरपालिका भवन परिसरमै पहिरो पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ । वर्षा भएको बेला पहिरो जान सक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहित पहिरो पूर्वसूचना प्रणाली जडान गरिएको डा दाहालले बताए । पाइप र गुच्चाको प्रयोग गरेर यो प्रणाली जडान गरिएको हो, उनले भने, “वर्षाले जमीन भासिएमा गुच्चा खसेर घण्टी बज्ने र यसले पहिरोको सङ्केत गर्नेछ ।

यो प्रणाली प्रभावकारी भएमा केही महीनापछि साइरन जडान गरिने भएको छ । नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्वसूचना प्रणालीबाट विपद जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको र यो प्रणाली सफल भएमा अन्य वडाहरुमा पनि विस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै