• २०८१ बैशाख ७ शुक्रबार

किन भयो ओली-प्रचण्डको खटपट ?

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच फेरी एक पटक खटपट भएको समाचार बाहिर आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो घटनाक्रमका कारण सबै कुरा ठिक नभएको उनीहरुका अभिव्यक्तिहरुबाट पनि सजिलै बुझ्न सकिन्छ ।

घटनाक्रमको सिलसिला मुख्य रुपमा चिनियाँ राष्ट्रपति सी जीनपीङको नेपाल भ्रमण, हाल हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणपछि दुवै अध्यक्षबीच खटपट भएको देखिएको छ । अहिले तत्कालिन एमाले र माओवादी केन्द्रबीचको अन्तरद्वन्दको परिणाम स्वरूप महरा हिरासतमा रहेको तत्कालिन माओवादी केन्द्रको नेताहरु बुझाई रहेको छ । एक पछि अर्को गर्दै तत्कालिन माओवादीका नेताहरुलाई फसाउने षड्यन्त्र भएको दोस्रो तहका नेताहरुले प्रचण्डलाई ब्रिफ गरेपछि प्रचण्ड पनि प्रधानमन्त्रीसँग असन्तुष्ट बनेको उनी निकट नेताहरु बताउछन् ।

हुन त दुवै अध्यक्षबीचको असमझदारी कुनै नयाँ विषय भने होइन । यस अघि पनि पटक पटक नेकपाको शिर्ष नेतृत्वमा दुरी बढेको उनीहरुका अभिव्यक्तिहरुले पनि देखाएको थियो । प्रचण्डले पछिल्लो पटक भेनेजुएला प्रकरण, पार्टी एकताका समयमा भएको समझदारी लगायतका विषयमा अर्का अध्यक्ष ओलीको भन्दा फरक धारणा बाहिर ल्याएर नेकपामा सबै कुरा ठिक नभएको देख्न सकिन्छ ।

विगतमा अनेकौ प्रकरणमा विवाद भएपनि पछिल्लो पटक प्रधानमन्त्रीले अमेरिकी एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) परियोजनाका बारेमा दिएको अभिव्यक्तिले प्रचण्डले प्रचण्ड सशंकित भएका हुन् ।  

प्रधानमन्त्रीले कान्तिपुरलाई दिएको अन्तर्वार्तामा यस बारे सभामुख महरालाई आरोपित गर्दै स्पष्ट रुपमा महराले बेठिक काम गरेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट अनुमोदन किन हुन नसकेको ?  भन्ने प्रश्नको जवाफमा सो अन्तर्वार्तामा भनेका थिए – 'त्यसमा तत्कालीन सभामुखजी (कृष्णबहादुर महरा) ले अलि बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ (महरा) लाग्नुभयो । आउँदो अधिवेशनबाट पारित हुन्छ । त्यसमा एउटा ठूलो बहसको प्रश्न बनाएको भनेको ‘भारत जोडियो’ भन्ने हो । बुटवल-गोरखपुर ट्रान्समिसन लाइन बनाउँदा, अन्तर्राष्ट्रिय ग्रिडमा जोड्दा भारतको सिमानामा मात्र बिजुली पुर्‍याएर त जाँदैन । उताको ग्रिडसँग जोड्नुपर्‍यो । त्यसो हुँदा भारत मान्छ, मान्दैन भन्ने कुरा पहिले टुंगिनुपर्छ भन्ने थियो । अस्ति भारतसँग सम्झौता भयो ।'

भेनेजुएला प्रकरणपछि बिग्रिएको अमेरिकासँगको प्रचण्डको सम्बन्ध पछिल्लो पटक एमसीसी प्रकरणले फेरी बिग्रिने स्तरमा आएको बुझिएको छ । तत्कालिन सभामुख महराले प्रचण्डकै इशारामा एमसीसीको प्रस्ताव संसदबाट पारित नभएको व्याख्या भएपछि प्रचण्डलाई अप्ठ्यारो परेको हो ।   

यति मात्र होइन सभामुख पद खालि भएपछि सो ठाउमा अब तत्कालिन माओवादीका नेताहरुलाई आउन नदिन भएका छलफल र विकसित घटनाक्रमले पनि प्रचण्डको छटपटी बढाएको छ । प्रधानमन्त्री अहिलेकी उपसभामुखलाई नै सभामुख बनाउने पक्षमा देखिएपछि प्रचण्ड असन्तुष्ट बनेका छन् । प्रचण्ड सभामुख तत्कालिन माओवादी पक्षले नै पाउनुपर्ने पक्षमा छन् । प्रचण्ड देव गुरुङ या जनार्धन शर्मालाई सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ । तर तत्कालिन एमाले पक्ष भने माओवादी पक्षलाई दिनुभन्दा उपसभामुखलाई नै प्रमोशन दिने पक्षमा देखिएका छन् । प्रचण्डले आफ्नो असन्तुष्टि नेकपाका वरिष्ठ नेता माधव नेपाल र संघठन विभाग प्रमुख इश्वर पोखरेललाई भेटेर नै पोखिसकेका छन् ।

अहिलेको खटपटको अर्को कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय पनि रहेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रहेको र भ्रमण सफल भएकोमा कुनै शंका छैन तर भ्रमणका क्रममा भएका घटनाले नेकपाभित्र भने ठुलो खाडल खनेको छ ।

प्रचण्डको सचिवालयले प्रचण्ड र राष्ट्रपति सीको एक्ला एक्लै भेट भयो भनेर निकालेको विज्ञप्तिको मिडियामा आलोचना भयो । कतिपयले प्रचण्ड र सीको एक्ला एक्लै भेट भएन भने । तर प्रचण्डले नेकपाको पार्टी प्रतिनिधिको नेतृत्व गर्दै राष्ट्रपति सीलाई भेटे । नेकाप भित्रको एउटा शक्ति प्रचण्ड र राष्ट्रपति सीको भेट हुन नदिन प्रयास गरेको पनि त्यति बेला बताइएको थियो ।

अहिले यी सबै पछिल्ला घटनाक्रमले प्रचण्डको छटपटी बढेको छ । चिनियाँ राष्ट्रपति स्वदेश फर्किएकी दिनमा प्रचण्डले काँग्रेसको चियापानमा गएर काँग्रेससँग सहकार्य आवश्यक भएको र दुई तिहाईको कुरा नगर्न आग्रह गरेबाटै नेकपा भित्रको खटपटको अनुमान गरिएको थियो । त्यसपछिका प्रचण्डका अभिव्यक्तिले प्रचण्ड असन्तुष्ट छन् भन्ने सजिलै बुझ्न सकिन्छ । उनले केहि दिन अघि धनगढी पुगेर फेरी आन्दोलन गर्न मन लागेको अभिव्यक्ति दिए । आफु अप्ठ्यारोमा परेको बेला छटपटी देखाउने प्रचण्डको पुरानो बानि फेरी अहिले देखाएका छन् ।

अहिले प्रचण्डले एकताका प्रक्रिया समयमा नटुंगाएको, तत्कालिन माओवादी पक्षका नेताहरुलाई निशाना बनाइएको भन्दै आफ्नो नयाँ रणनिति बनाउन लागेको उनी निकट नेताहरुले बताएका छन् तर अहिलेको परिस्थितिमा प्रचण्डसँग त्यति धेरै विकल्प देखिदैनन् ।

किनकी उनी अहिले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन पनि सक्दैनन्, आफु सजिलै सत्तामा जाने अन्य विकल्प पनि छैन । प्रचण्ड पार्टी फुटाएर अगाडी बढ्ने विकल्प भएपनि कुरा त्यँहासम्म भने अझै पुगिसकेको देखिदैन तर शिर्ष नेताहरुको दुरी बढ्दा सरकार र पार्टीका गतिबिधिलाई भने ठुलो असर गर्ने देखिन्छ ।

         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै