• २०८१ बैशाख ११ मंगलबार

प्रदेश ३ मा पशुपालन तथा मत्स्य विकासका लागि २४ करोड लगानी

kharibot

फाइल तस्विर । 

हेटौँडा । प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा २४ करोडभन्दा बढी लगानी गर्ने भएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह,  सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ ।

प्रदेशको पशुपक्षी विकास तथा मत्स्य विकास निर्देशनालयले ११ कार्यक्रममा २४ करोड २५ लाख लगानी गर्ने गरी प्रस्ताव माग गरेको छ ।

निर्देशनालयले आह्वान गरेको प्रस्तावअनुसार काठमाडौँ, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि शत प्रतिशत साझेदारी गर्नुपर्ने छ । उक्त  कार्यक्रमका लागि निर्देशनालयले अधिकतम ४० लाख छुट्याएको जनाएको छ ।

चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी १० लाख छुट्याएको छ ।

यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङका ६ स्थानमा बृहत्तर शाखा अनुसन्धान विस्तार तथा विकास कार्यक्रमका लागि ५० लाख लगानी गर्ने प्रदेशको योजना छ ।

त्यसैगरी कृषि र पर्यटनको प्रवद्र्धनका लागि नमूना कालीज तथा स्थानीय जातका कुखुरापालन गर्नका लागि २५ लाखसम्मको साझेदारी गरिने मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

चितवन र काभ्रेपलाञ्चोकमा पशुआहार उद्योग स्थापनाका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले १ करोड लगानी गर्ने भएको पाण्डेको भनाइ छ । दोलखामा सामूहिक गाईपालनका लागि २० लाख लगानीको प्रस्ताव आह्वान गरिएको छ ।

चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि पनि प्रतिहेक्टर ५ लाख लगानी गर्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै