काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा. नतालिया कनेमले शिष्टाचार भेटवार्ता गरेका छन् ।
उपमहासचिव डा. कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक समेत रहेकी छिन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सो भेटवार्ता भएको थियो ।
डा. कनेम नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुगेकी थिइन् ।
सन् २०१७ मा यूएनएफपिएको कार्यकारी निर्देशक पदमा नियुक्त भएकी डा. कनेम पहिलोपटक नेपाल भ्रमणमा आएकि हुन् । उनको साथमा एशिया र प्रशान्तका लागि युएनएफपिएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपिएका चिफ अफ स्टाफ पियो स्मिथ छन् ।
सो भेटमा यहाँस्थित युएनएफपिएका देशीय निर्देशक लुम्ना बाकी पनि सहभागी छिन् । सो अवसरमा उनिहरुबीच युएनएफपिएको आर्थिक एवं प्राविधिक सहयोगमा मन्त्रालयले सञ्चालन गरेका यौन तथा प्रजनन स्वास्थ्य, परिवार व्यवस्थापन, सुरक्षित मातृत्व लगायतका कार्यक्रमका विविध पक्षमाथि छलफल गरिएको थियो ।
यस वर्ष युएनएफपिएको ५०औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी)को २५औँ वार्षिकोत्सव मनाइँदैछ ।
सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेका उपलब्धिसँग साक्षात्कार हुन डा. कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।
उपप्रधानमन्त्री यादवले नेपालको संविधानमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यलाई मौलिक अधिकारमा समावेश गरिएको जानकारी उपमहासचिव डा. कनेमलाई दिँदै आइसिपिडीको कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।
उपमहासचिव डा. कनेमले आज नै प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटघाट गरेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासँग आइतबार भेटवार्ता गरेकी थिइन् ।
नेपालले सन् १९७१ देखि युएनएफपिएसँगको आर्थिक एवं प्राविधिक सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोग लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।