• २०८१ बैशाख १३ बिहीबार

टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

kharibot

फाइल तस्विर । 

काठमाडौँ । नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।

कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम दुई एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।

यसअघि ११० एमबीपिएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस ४ हजार २ सय रहेकामा अब दुईदेखि २० एमबीपिएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस २ हजार ५ सय मात्र कायम गरिएको कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 
    
त्यसैगरी पहिले ११ देखि १ सय एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस ४ हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्याण्डविथ रेन्जको प्रति एमबीपिएस २ हजार ३ साता मा र ५१ देखि १ सय एमबीपिएस रेन्जको प्रति एमबीपिएस मात्र २ हजार १ सयमा उपलब्ध गराइनेछ । 
    
पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रति एमबीपिएस ३ हजार ८ सय महसुल दर तोकिएकामा अब यो प्रति एमबीपिएस १ हजार ९ सय मै उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।

यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैं बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।

मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ/संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै