काठमाडौँ । भारतले दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्ट इनिंग र २०२ रनले जितेको छ ।
खेलको चौथो दिन खेलेको तेस्रो ओभरमै शाहबाज नदीमले लगातार २ बलमा दुई विकेट लिएपछि भारत विजयी भएको हो ।
फलो अनमा रहेको दक्षिण अफ्रिका दोस्रो इनिंगमा १३३ रनमा अल आउट भएसँगै खेल इनिंग र २०२ रनले गुमाएको हो । दक्षिण अफ्रिका आफ्नो पहिलो इनिंगमा १६२ रनमा अल आउट भएको थियो ।
यस अघि भारतले आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाउदै ४९७ रन बनाएर इनिंग घोषणा गरेको थ्यियो ।
यस टेस्ट सिरिजमा भारतका रोहित शर्माले ३ शतक (एक दोहोरो शतकसहित) १३२ को औसतले सर्वाधिक ५२९ रन बनाएका छन् । रोहित यस खेलमा प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज समेत बनेका छन् ।
त्यस्तै भारतका मयंक अग्रवालले दुई शतक (एक दोहोरो शतक) सहित ३४० रन बनाएका छन् ।
त्यस्तै भारतका बलर आर आश्विनले सर्वाधिक १५ विकेट लिएका छन् भने मोहमद सामी र रविन्द्र जडेजाले १३-१३ विकेट लिएका छन् ।
यो जितसँगै भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टेस्ट सिरिज ३-० ले जितेर क्लिन स्विप गरेको छ । टेस्ट च्याम्पियनसिप अन्तर्गतको यो टेस्ट जितेसँगै भारतले लगातार दोस्रो सिरिज जितेको छ ।
भारतले यस अघि वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज पनि जितेको थियो । यो जितसँगै भारतको टेस्ट च्याम्पियनसिपमा २४० अंक भएको छ भने भारत अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।