• २०८१ बैशाख ५ बुधबार

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

kharibot

फाइल तस्विर । 

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना चिकित्सक करारका छन् ।

“चिकित्सक समायोजनका कारण अस्पताल रित्तिएको छ”, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रविन भुसालले भने, दरबन्दीमा कार्यरत चिकित्सक समायोजन भएर बाहिर जिल्ला गएपछि जिल्ला अस्पताल दरबन्दीको मेडिकल अधिकृतविहीन भएको छ ।

हप्ता दिन अघिमात्र जटिल खालको शल्यक्रिया हुने जाजरकोट जिल्ला अस्पतालमा अब सामान्य जाँच मात्र हुने अवस्थामा पुगेको छ । अहिले १३ जना स्वास्थ्यकर्मी र कर्मचारीको भरमा जिल्ला अस्पताल चलेको प्रमुख डा. भुसालले जानकारी दिए ।

चिकित्सक पठाई दिन उनले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आग्रहसमेत गरे । ५० शैंयाको अस्पताल चिकित्सक विहीन हुनु सामान्य कुरा नभएको उनको भनाइ छ ।

अहिले जिल्लाका तीन सरकारी कार्यालयलाई गाभेर स्वास्थ्य सेवा कार्यालयबाट सञ्चालन भइरहेको जिल्ला अस्पताल जाजरकोटमा विगतदेखि दिदैं आएको सेवासमेत कटौती हुन थालेका छन् ।

दरबन्दीका चिकित्सक समायोजन भई बाहिर जाने तर जाजरकोट कसैले नरोज्दा समस्य भएको हो । जिल्लामा चिकित्सक र स्वास्थ्यकर्मी टिकाउन समस्या भएको भन्दै सर्वत्र चिन्ता भएको छ ।

जिल्लाको एक मात्र ५० शैंयाको अस्पताल भए पनि कर्मचारीको अभावमा थलिने अवस्थामा पुगेको डा. भुसालले जानकारी दिए । ३ कार्यालय गाभिएपछि अहिले आयुर्वेद कार्यालयका प्रमुख नै कार्यालय प्रमुखको जिम्मेवारीमा छन् । त्यस्तै ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा समेत सोही समस्य देखिएको छ ।

गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य संस्था लामो समयदेखि चिकित्सकविहीन छ । त्यस्तै दल्लीमा रहेको स्वास्थ्य संस्थामा पनि सोही समस्या रहेको छ । करारमा काम गरिरहेका चिकित्सकले पनि कामको चापले गर्दा समस्या भएको भन्दै गुनासो आइरहेको प्रमुख भुसालको भनाइ छ ।

जाजरकोट, रुकुम, सल्यान र डोल्पाका बिरामीसमेत जाजरकोटको जिल्ला अस्पतालमा जटिल खालका सेवा पाएपछि खुशी भएकोमा अहिले त्यो खुशी पीडामा बदलिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै