• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्रिय गौरवका आयोजना समय अगावै सक्न प्रमको निर्देशन

kharibot

फाइल तस्विर । 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय अगावै सक्ने गरी काम गर्न सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट आज विभिन्न सात आयोजनाको प्रत्यक्ष जानकारी लिई अनुगमन गरेपछि प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

ऊर्जा, जलस्रोत र सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सम्बन्धित सात आयोजनाको आज अनुगमन गरिएको थियो । ती आयोजनामा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सिक्टा सिँचाइ आयोजना, भेरी बबई बहुद्देश्यीय आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र रानीजमरा सिँचाइ आयोजना छन् ।

ऊर्जामन्त्री वर्षमान पुन, संस्कृतिमन्त्री योगेश भट्टराई, अर्थमन्त्री डा. युवराज खतिवडासहित सम्बन्धित मन्त्रालयका सचिव र आयोजना प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि पनि उक्त कक्षबाट विभिन्न आयोजनाको अनुगमन गरेका थिए ।

मन्त्री पुनका अनुसार प्रधानमन्त्री ओलीले गौरव गर्न लायक हुने गरी काम गर्न र कार्यशैली बदलेर तीव्रता दिई तोकिएको समयभन्दा अगावै काम सक्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले चालू आर्थिक वर्षको अघिल्लो ३ महिनाको प्रगति र ती आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै