• २०८१ बैशाख ७ शुक्रबार

अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार, ३० हजारले खेल हेर्न सक्ने 

kharibot

चितवन । भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ ।

सो खाकामा थपघटका लागि सुझाव लिन आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको छ । सो अवसरमा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो । सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ ।

रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ । भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ । 

बाइस बिघा १६ कट्ठा पाँच धुर जग्गामा रङ्गशाला निर्माण गरिँदै छ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ । 

छलफल कार्यक्रममा डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टसका प्रबन्ध निर्देशक शेरबहादुर केसीले भारत र अमेरिकाका परामर्शदातासँग छलफल गरी यो प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिए ।

विश्वमा रहेका पछिल्लो प्रविधिबाट निर्मित रङ्गशालाको नमूनासमेत अध्ययन गरी परामर्शदाता कम्पनीले उच्चस्तरको डिपिआरको नमूना तयार भएको जनाएको छ । कार्यक्रममा सहभागीले आ–आफ्नो सुझाव दिएका थिए । 

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महीनाभित्रमा रङ्गशाला तयार हुने बताए । पछिल्ला दिनमा जिल्लामा भएका घटनाका कारण वातावरण त्यती सहज नभएको भन्दै उहाँले जिल्लाबासी लागेमा काम सम्पन्न गर्न कठिन नहुने बताए । 

परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न रु दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ । कट्टेलले रङ्गशालाका लागि बोलकबोलको रकम रु सात करोडमध्ये रु एक करोड र नबोलीकनै सोझै रु दुई करोड सङ्कलन भएको जानकारी दिए । डिपिआरका लागि हालसम्म रु दुई करोड भुक्तानी गरेको कूल रकमको टुङ्गो लगाएर भुक्तानी गर्न बाँकी रहेको उनले बताए । 

छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताए । 

सो अवसरमा निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमाकान्त कँडेलले फाउण्डेसनलाई रु १० लाख एक हजार १११ को चेक हस्तान्तरण गरेका थिए । यसअघि रङ्गशालाको बार स्थानीयले भत्काएपछि केही महीना काम रोकिएको थियो । हाल रङ्गशाला निर्माण स्थलमा दुबो र माटो तयार गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै