• २०८१ बैशाख १२ बुधबार

विद्युतीय बस खरीदमा ढिलाई : ठोस निर्णय लिने मन्त्रालयको तयारी

kharibot

काठमाडौँ । यातायात सहकारी संस्थाले बस खरीदमा ढिलाइ गरेपछि अब कसरी अघि बढ्ने बारेमा सरकारले टुङ्गो लगाएको छैन ।

सरकारले विद्युतीय बस खरीदका लागि रु तीन अर्ब दिएको तीन महीना नाघ्दासमेत अपेक्षाकृतरूपमा प्रक्रिया अघि नबढेपछि साझासँग सरकारले सोधपुछ गरे पनि त्यसपछि कुनै निर्णय भएको छैन ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ काठमाडौँमा नहुनुभएकाले तत्काल कुनै निर्णय हुन नसकेको मनत्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले बताए । उनका अनुसार तिहारपहिले नै बस खरीद प्रक्रियाका सम्बन्धमा निर्णय गर्ने योजना बनाइएको छ । उनले भने, “आज बैठक बसेर केही निर्णय हुने सम्भावना छ, त्यो हुन नसकेमा तिहार सकिनासाथ निर्णय हुनेछ ।”

मन्त्रालयले सकेसम्म चाँडो बस ल्याएर सञ्चालन गर्न चाहेको प्रवक्ता ज्ञवालीले बताए । चाँडो खरीद गर्नकै लागि सार्वजनिक खरीद प्रक्रियामा नगएर सरकारले ‘जी टू जी’ (गभर्मेन्ट टू गभर्मेन्ट) माध्यममार्फत गरिएको उनको भनाइ छ । यो माध्यमबाट खरीद गर्ने निर्णय भए पनि तीन महीना बित्दासमेत मन्त्रालयले चाहेजस्तो प्रगति नपाएको उनको भनाइ छ ।

उनले भने, “यो अवधिमा साझाले हामीलाई यी यी कुरा भए भनेर जानकारी गराएको छैन ।” मन्त्रालयले चाहेजस्तो नतिजा आइनसकेकाले केही दिनपहिले खरीद प्रक्रियाबारे संस्थासँग मन्त्रालयले जानकारी मागेको थियो ।

तर विभिन्न सञ्चारमाध्यममा आए जसरी खरीद प्रक्रिया रोक्नका लागि पत्र नलेखिएको प्रवक्ता ज्ञवालीले बताए । खरिद प्रक्रियामा ढिलाइ हुँदा अब कसरी अघि बढ्ने भन्ने बैठकले टुङ्ग्याउने उनको भनाइ छ । उनले भने, “मन्त्रीज्यूले पनि बस खरीद सकेसम्म चाँडो होस् भन्ने चाहनुभएको छ ।”

विद्युतीय बस खरीदकै लागि तीनै तहका सरकारले सहकारीको शेयर खरीद गरेका थिए । नेपाल सरकारले तीन अर्ब, प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाखको शेयर खरीद गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै